Saturday, January 12, 2008

हिलारीको सम्झनामा

सन् २००३ मा सगरमाथा सफल आरोहणको ५० औ
वार्षिकोत्सव मनाउदाको क्षणमा प्रसन्न मुद्रामा हिलारी



-सुदीप अधिकारी, दुवई
साँझ ६ बजे, ११ जनवरी २००८


शाहसले पुर्यायो तिमीलाई शिखरमा
गगनचुम्बी हिमालका पुत्र तिमीलाई
फुलेका थियौ गुराँससरी हिमाली पाखा पखेरामा
चम्काएका थियौ आफ्नो नाम संसारको कुना कुनामा
हठात्,
हामीवीचबाट तिमीलाई यमराजले कसरी खोस्नसकेको होला
कति कठोर यो समाचार, कति निष्ठूर खवर
कसरी भुल्ने होला
तिम्रो त्यो शालीनता
अनि आत्मीयतालाई

के भयो होला झन् त्यो खुम्जुङ्लाई
सायद, पीडाको आँशुले निथ्रुक्कै भएको होला
मुर्छानै परिसक्यो पो कि
सगरमाथाले पानी खन्यायो होला नि !
शोकमा आफूनै परेपनि,
फकाई फुल्याई गर्यो होला नि !

छ भने मर्त्यलोक,तेङजिङ्लाई गएर भेट्नु
त्यहाँ सधैं संगै बस्नु
सगरमाथापनि त टाढा छैन
कथा कुथुङग्रि सुन्ने सुनाउने गर्नु
नया खबर पनि उसैबाट बुझने गर्नु
बोर कहिल्यै नहुनु
नेपालीलाई सगरमाथाको हातबाट
संसमरणहरु छर्दै रहनु
धेरै के भनौ,
तिमी जुनी जुनीको लागि अंमर बनिदिनु
यहि समवेदना छ तिमीलाइ ।
घडाभरिको माया छ तिमीलाई ।

(सगरमाथाका पहिला आरोही नेपालका मित्र सर एडमण्ड हिलारीको निधनको खवरले म मर्माहत् भएको छु। अनि त्यसै त्यसै म मा यि भावनाहरु उब्जिए ।यो कविता मैले हिजोनै उनको अवसानको खबर सुन्नेबित्तिकै लेखेको हुँ। - 12 Jan, 2008)

Wednesday, January 9, 2008

यूएईको बदलिदो चित्र, मेरो मानसपटलमा

-सुदीप अधिकारी
सरदर डेढ लाख नेपालीको हालको कर्मथलो संयुक्त अरव इमिरेट्सले डिसेम्वरको पहिलो हप्ताभरि धुमधामसँग आफ्नो स्वतन्त्रताको ३६ औ वर्षगाँठ मनायो। बिकास र निर्माणको पर्यायी बनेको यो देशको बारेमा यस अवसरमा मैले केहि नलेखी बसिरहननै सकिन।
हुनत "मरुभूमिको देश" भनेर चिनिने गरेको यो देशको यो विशेषणयुक्त नाम अव वास्तबिकतामा हरियालिको देशमा परिवर्तित हुँदै गैरहेको छ। हाम्रा काका बाजेले भन्ने गरेका- "पानी नभएकाले लुगा लगायो लगायो फाल्यो" भन्ने टुक्काको विपरित यहाँ २४ सै घण्टा अटुट पानी उपलब्ध हुन्छ अहिलेको बिकसित यो देशमा। बरु हाम्रा पालामा आएर यो टुक्का हामी नेपालीतिरै फर्किदै गरेको आभास जनता जनार्दनले गर्नु परिरहेको छ।सातवटा राज्य मिलेर बनेको यो देशमा संसदीय परम्पराको सुरुवात अहिलेसम्म पनि भएको छैन तर कुनै पनि ब्यक्ति जो स्वदेशी वा बिदेशी होस्, यहाँको खुल्ला जनजीवनमा आफूलाई धेरै सुरक्षीत महसुस गर्छ। मुस्लिम रास्ट्र भएपनि सबै धर्मावलम्बीहरुलाई आ-आफ्नो धार्मिक स्थलमा भेला हुने पूर्ण स्वतन्त्रता छ। एकले अर्कालाई सम्मान गर्नुपर्छ भन्ने शन्देश राज्यले आफ्ना निकायहरुबाट बिभिन्न माध्यममार्फत दिईरहेको हुन्छ। तेलको धनी भनिएपनि खासगरि दोश्रो ठुलो राज्य दुवईलेत निर्माण र ब्यापारको माध्यमबाट आफ्नो भूमिलाई पच्छिमा राष्ट्रको कुनै ठूलो शहरसँग कुममा कुम जोड्दै छ। रियलस्टेटको ब्यापार यति बढेको छ कि-लाग्छ अवको १०-१५ वर्षमा दुवई विश्वकैसबैभन्दा ठूलो शहरमा गनिनेछ। तर यहाँको बिकास असन्तुलित भने छैन। यहाँ जति नयाँ नयाँ नमूनाका घरहरु बन्दै छन्, त्यतिनैबढी मानिसहरुलाई आरामको लागि गोदावरी मार्काका हरियालि पार्कहरुपनि बन्दैछन्। शैक्षिक बिकासमा, सरकारले दुवईमा "नलेज भिलेज"नाम दिएर अलग्गै क्षेत्रको स्थापना गरेको छ जुन उसको शिक्षाप्रतिको ठूलोचाख झझल्किन्छ। ठूला ठूला ब्यापारिक कम्पनिहरुमा पढेलेखेका बिदेशिहरुको हालिमुहाली भएको हुनाले पनि होला यहाँका शासकहरुमा यो मनोबैग्यानिक दवाव परेको हुनुपर्छ कि ति ठाउँहरुमा आफ्नै नागरिकहरुलाई शिक्षित बनाएर भरुँ। नीति-निर्माणको क्रममा भविश्यमा के हुन्छ तर हाललाई यो देशमा व्यापार कर सरकारलाई तिर्नु पर्दैन। तलवमा पनि कुनै कर लाग्दैन। त्यसैले पनि हुनुपर्छ बढि भन्दा बढि पच्छिमेलीहरु यहाँ ओइरिएका ओइरियै छन्, ब्यापार गर्न होस वा तलवी रुपमा काम गर्न। भन्ने गरिन्छ कि- पच्छिमेलीहरु दुवईमा आफ्नो देशभन्दा कम्तिमा पाँच दोब्बर कमाई गर्छन्।
समुन्द्रको माध्ममबाट आयात निर्यात गर्न अफ्रिकिहरुको लागि यूएई विशाल केन्द्रस्थल हो भने नेपाल जस्ता दक्षिण एशियाली रास्ट्रको लागि कामदार निर्यात गर्ने देश। हाम्रा छिमेकि रास्ट्र- खासगरि भारत र पाकिस्तान यूएईलाई कामदार मात्र निर्यात गर्दैनन् दिनहू लाखौ टनका टन आफ्ना करेसाबारीका सागसब्जी यूएईबासिका भान्सामा भर्न सिपालु भइसकेका छन्। उव्जाउ भूमि नभएको र प्रतिकूल मौसमको फाईदा हाम्रा ठूला छिमेकी देशले मज्जैले लिएको भएपनि हाम्रो देशले भने यो वास्तविकतालाई अझसम्म नबुझेको हो वा बुझेर पनि बुझ पचाएको हो, बुझ्न सकिएको छैन।
समुन्द्रको विचमा करोडौं टन माटो ओछयाएर निर्माण गरिदै गरेको अलग्गै बस्ती भने दुवईका शासकले लिएको महत्वाकांक्षी कदम मान्नुपर्छ। दुईवटा खजुरको बोटको आकारमा अनि तेश्रो चाहि विश्व मानचित्रको आकारमा निर्माणाधिन भब्य यि निर्माणले यू एईको नक्सालाई मात्र परिवर्तन गर्ने छैन विश्व आश्चर्यको इतिहासमा एउटा अर्को नाम पनि थप्ने छ।
यस्ता नया नया योजनाको परिकल्पनाकार भने दुवईका शासक शेख मोहम्मदलाईनै मान्ने गरिन्छ। यहाँनेर, ममा मात्र हैन सायद यहाँ काम गर्ने सबै नेपालीको मनमा यो कुरो खेल्दो हो कि- शासनको स्वरुप ठूलो कि, द्रिढ निश्चयी शासक महान ! नेपाल पुरानो देश त हो, दशौंपटक वहुदलिय शासन अनुरुपका शासक सत्तामा आसिन भएपनि हम्रो देशको कुनै विवरण पढ्न डाटाको शुरुभन्दा पूछारवाटै पढ्न छिटो हुन्छ तर यो देशले अहिले आफ्नो ३६ सौं वर्षगाँठ मनाउदा यस देशका नागरिकहरु प्रतिव्यक्ति आय गर्नेमा विश्व डाटाको माथिबाट पढ्दा उच्च पन्ध्रभित्रमा पर्छन्।
एउटा सानो सन्दर्भ- केहि समय पहिले हाम्रा नेपाली नेता भरतमोहन अधिकारीले यूएईको निजी भ्रमणको क्रममा नेपालदुव ई डट कमलाई अन्तर्वार्ता दिदै भन्नुभएको थियो "यो देशलाई हेर्न दश वर्षपछि फेरी आउनुपर्छ।"वहाँको भनाई यहाँको विकाश तथा निर्माणतर्फनै निर्देशित थियो। अनि हेर्न आउने कुरा त वहाँले गर्नुभयो तर देखेका यी कुरालाई यथार्थमा बदल्ने प्रण देशका नीति निर्माता वहाँहरुले कति गर्ने गर्नुहुन्छ हामीले खोजेको कुरामध्येको हो यो। यस अवसरमा यहाँ कार्यरत हामी सबै नेपाली यो अनुरोध गर्छौं कि भरतमोहनजी मात्र हैन, सबै पार्टीका नेताहरु एकपटक यूएई हेर्न अहिल्यै आईहाल्नुस्। ढिला नगर्नुस्।
-दुवई, यूएई

Google