Wednesday, August 27, 2008

वाई०सी०एल० को पत्रकारप्रतिको ब्यवहार कहिले सुध्रिने ?

-सुदीप अधिकारी-
संगठन अवश्यनै हक हित र राम्रो कामका लागि खोलिन्छ। तर संगठनले उद्देश्य विपरित गलत काम गर्दै जान थाल्यो भने त्यो समाजको लागि घातक सिध्द बाहेक केहि हुदैन। यस्तै कुराको उदाहरण पेश गरेको छ हालै कतारमा कान्तिपुरकर्मीमाथि गरिएको हमलाको घटनाले। यो घटना एउटा पत्रकारमाथि मात्र आईलागेको घटना होइन यो घटनाको अर्को असर कतार र अन्य खाडी राज्यमा काम गर्ने नेपालीहरुमा पनि पर्ने देखिन्छ।
सबैले जाने बुझेको कुरो हो कि खाडीका सबै राष्ट्रमा खुल्ला राजनीतिक गतिबिधि गर्न पाईदैन। जो आफ्नो राजनीतिक शक्ति स्थापना र बिस्तार गर्न चाहन्छन् ति पार्टीहरु अन्य नाम प्रयोग गरेर संचालित भएका हुन्छन्। कतारको जन प्रगतिशिल मन्च पनि यहि छद्म नाम प्रयोग गरी ने०क०पा० माओबादीको संगठन र बिस्तारमा लागेको छ। यस्ता नेपाली संगठन कतारमा मात्र हैन खाडीका सबै देशमा च्याउसरि छन्। माओबादी पार्टीको मात्र होइन नेपालका प्रमुख राजनीतिक पार्टीका आ-आफ्ना नाममा सबैका भात्री संगठन खोलिएका हुन्छन्। जव जव देशमा काम नपाएर मेनपावर एजेन्टलाई पैसा बुझाउदै आर्थिक उन्नतीको बाटो देखेर नेपाली युवाहरु अन्य देश लगायत खाडी राष्ट्र पसे अवश्यनै उनिहरुले नेपालमा पछयाएका राजनीतिक पार्टीका बिचार बोकेरनै भित्रिए। अनि देशको छिट्-छिटो बदलिएको राजनीतिक परिद्रिश्य सँगै लाखौको जमातमा बिचार मौलाउने र फैलाउने अवसर स्वभाबिक बन्दै गयो प्रवासमा पनि।
तर मुख्य समस्या यहाँ छ कि ति प्रवाशका संगठनहरुले आफूहरुको संगठन नेपाल भूमिभित्र संचालीत नभएर खाडीको राजनीतिक गतिबिधि गर्न प्रतिबन्धित ठाउँमा संचालीत छ भन्ने कुरो बिर्सन थालेका छन्। आ-आफ्ना समुदाय र देशका पर्व मनाउन भेला हुन र साँस्क्रीतिक कार्यक्रम गर्न सम्म छुट पाउने संघ संस्थाहरुले देशको प्रमुख राजनीतिक पार्टीका नेताहरुलाई बोलाएर कार्यक्रममा हुल-हुज्जत गर्न थालेपछि के अव त्यहाँको स्थानिय सुरक्षा निकाय कानमा तेल हालेर बसिरहला त ! शेख (राजा)हरुद्वारा शासित यी राज्यहरुमा नीति-नियमहरु दिनदिनै फेरीइरहने प्रिश्टभूमिलाई हेर्ने हो भने कुनै दिन कतारमा नेपालीहरुलाई २-३ बर्षको लागी कामदार भिसा बन्द गरियो रे भन्ने समाचार सुन्नुपर्ने दिन आउने छैन भनेर भन्न सकिदैन। त्यो निर्णय हाललाई नआईहालेपनि नेपालवाट कामदार मगाउने नीतिमा कडाईका तह बढ्न सक्छ्न्। हालसालै बहराईनमा एउटा बंगलादेशी कामदारले स्थनीय नागरिकको हत्या गर्दा बहराईनी सरकारले महिनौसम्म बंगलादेशबाट कामदार मगाउन प्रतिबन्ध लगाएको घटना ताजै छ। हुलहुज्जत र झोंकि स्वभाबका भनेर मलेशिया, साउदी अरेविया तथा कुवेत सरकारले बंगलादेशी कामदार नचाहिने भन्न थालेको छ। त्यसैले हामी नेपालीहरुले पनि यो कुरा बुझ्नु पर्छ कि हाम्रा गतिबिधिहरु कुन बाटातर्फ मोडिदैछन्। श्यामसुन्दर शशिले आफ्नो बिबरण कान्तिपुरमा लेख्दा "लुमा"नामको मादक पदार्थ खाई वाइ०सी० एल० कार्यकर्ता आई लाग्न आएको कुरा पनि यहाँ उल्लेख गर्नु सान्दर्भिक ठान्दछु। यदि त्यस्तो हो भने माओबादीको सामाजिक सुद्दिकरणको अभियान कहाँ पुग्यो ! उच्छ्रिङ्खल ब्यक्तिहरुलाई किन कार्यक्रममा समावेश गराइयो ? भरखरै काँडै काँडाहरुबिच पाइला अगि बढाउन थालेको आफ्नो पार्टी सरकारमा रहेको बेला बिना आमन्त्रण समाचार संकलन गर्न आएको भन्ने जस्तो यस्तो दरिद्र बिचार प्रदर्शित गर्दा सम्पूर्ण प्रवासी नेपालीहरुमाझ के सन्देश जान्छ भन्ने कुरो माओवादी पार्टीले सोचेको छ!देख्दा झिना मसिना लाग्ने भएपनि यस्ता कुरामा सबैले गहिरिएर सोचिनु पर्छ। हिजोसम्म देश युद्धमा छँदा बिदेशका गएका नेपालीहरुले पठाएको रेमिटेन्सले देशको अर्थतन्त्र धानिएको भनेर बार बार रटान लगाइन्थ्यो। प्रवासी नेपालीहरुको सम्मेलनमा नेता प्रचण्ड लगायत सबैले बिदेशिएका नेपालीहरुको लागी केहि न केहि गर्ने नभनेका होइनन्। तर हालैको प्रधानमन्त्रीले गरेको राष्ट्रवासीको सम्बोधनमा प्रवासी नेपालीहरुको बारेमा बोल्न छुटाइएको छ। खाडी लगायत बिदेशिएका नेपालीहरुको आम्दानीलाई देशको निर्माणमा उपयोग गर्ने रणनीति सरकारको हुनुपर्छ भने देशमै रोजगारी सिर्जना गरी अधिकांश तल्लो दर्जाको काममा बिदेश पस्नु पर्ने नेपालीहरुको बध्यताबाट उनीहरुलाई मुक्त बनाइनुपर्छ। कतारमा घटेको यो घटना पनि बेरोजगारीबाट सिर्जित घटना हो भनेर हामीले लिनुपर्छ। र,यदी होसियारीपुर्वक लागिएन भने नयाँ नेपाल कहिल्यै बन्ने छैन।
-हाल: दुवई, यू० ए० ई०



Google