Tuesday, March 22, 2011

बार्षिक छुट्टि, पोखरा र फेवाताल

-सुदीप अधिकारी-
 
मुग्लिन पुलबाट पूर्वतर्फको यात्रा पटक-पटक हुनेगरेको भा पनि त्यहाँबाट पश्चिम नलागेको भने दशक भन्दा बढिनै नाघिसकेको रहेछ। धेरै बर्ष पहिले लमजुङ्को बसाईको क्रममा जिल्लाको कुनाकाप्चा चाहारेर पश्चिमान्चलको, अझ खासमा गुरुङ् समुदायको जीवनशैलीलाई छेवैबाट नियाल्ने मौका मिलेको भएपनि त्यहीं नजिकको ताल, तलैयाको शहर भनेर चिनिने देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरा र यसको सेरोफेरो घुम्ने र जान्ने रहर खै के भएर हो कुन्नी थाँतिनै रहिरहेको थियो। यसपाली भने बार्षिक बिदामा नेपाल पुग्ने काम मात्रै नगरेर देशकै प्रसिद्ध पर्यटकीय ठाउँ पोखरा घुम्ने योजना पनि मनमनै बुनिसकेको थिए। ठूलै काम परे मात्रै हामी नेपालीहरु देशको अन्य भागमा पुग्ने हाम्रो संस्कारले गर्दा होला पूर्बको नेपालीले आफ्नो उमेरको पचास पार गरिसकेपनि काठमाडौं आउजाउको मुग्लिङ् बजार नजिकै पर्ने बुटवल पनि नदेखेको र पश्चिम गुल्मी, म्याग्दी वा अरुतिरको पढेलेखेको जवानले पूर्वको धरान वा इटहरी अरुको मुखबाटै मात्रै सुनेको कुरा सामान्य हुने कुरा हाम्रो नेपाली परिबेशीय यथार्थता हो। अझ काठमाडौंका कतिपय स्थानीय समुदायमा बुढा-बुढी उमेरकाको त कुरै छोडौं, यूवा-युवतीहरु पनि लाखौंकोसंख्यामा थानकोट वा धुलिखेल ननाघेकाहरु भेटिनु सामान्य कुरा भित्रै पर्दोरहेछ।   यहाँ  के भन्न खोजिएको हो भने काठमाडौं खाल्डोमा जन्मेको मान्छेले उपत्यका बाहिरको केहि पनि नदेख्दा, पहाडको कुरा सुन्दा अकबर र बीरबलको कथाझै सम्झने र सूदूर पहाडका त्यहि नेपालीले काठमाडौंका सम्भ्रान्त मान्छेहरुका मोजमस्ति देख्दा त्यसै त्यसै रिस थोपार्ने मनोबैग्यानिक अवस्था स्रिजित हुने अवस्था आउने रहेछ। र, यो अवस्था आउन नदिन र पूर्व र पश्चिमको नेपालीले एक अर्कालाई पूर्बेली र पश्चीमेली भनेर फरक सोच्ने अवस्थाबाट बच्न मौका निकालेर देश घुम्ने काम गर्नु अति आवश्यक छ।यो कुराको अनुभव यसपालीको हिँउदमा पोखराको पाँचदिने भ्रमण गर्दा मलाई महसुस भएको कुरा हो।
 
यति भनिसकेपछि अव पोखरालाई मजस्तो एकपटक नियाल्ने यात्रुलाई के त्यस्तो चिजमा पोखरा अद्भुत वा सुन्दर लाग्यो त्यो सुनाउन वा अनुभव साट्न कर्तब्य ठान्दछु। र, पोखराजस्तो नेपालकै प्रमुख पर्यटन गन्तब्यमा कहिल्यै पाईला नटेकेका हामी नेपालीहरुले किन जाने त भन्ने कौतुहलता मेट्न केहि शब्दहरुद्वारा बयान गर्न यहाँ आवश्यक ठान्दछु। एकपटक घुमिसकेकाहरुले भनेजस्तो वा पुस्तक वा पत्रपत्रिकाहरुमा लेखिएजस्तो मात्र नभै पोखरा वास्तबमै मिलेको शहर सहितको अद्भुत र सुन्दर उपत्यका हो। माछापुछ्रेहिमालको काखमा लुटुपुटिएको यो उपत्यकाको प्रमुख आकर्षण चाहिं फेवाताल नै हो जसमाथी साँझपख सूर्य अस्ताउदाको समयमा डुंगामा एकपटक यात्रामा निस्कने जो-कोहि यात्रुले त्यो क्षण पक्कै पनि जीवनभरी नभुल्ने अबिष्मरणिय नै बन्छ। परिवार सहित राजधानीको कोलाहलबाट फुत्त फुत्किएर फेवातालको त्यो टहकमय साँझमा मेरो पोखरेली साथी भक्त गुरुङ्को साथमा म वास्तवमा आफूलाई निकै रोमान्चक र आनन्दित महसुस गरिरहेको थिए जव म फेवातालमा डुंगामा सयर गर्दै थिए।। पाँच बर्षे मेरो छोरो पनि अन्य कतिपय ठाउँ घुमाईसक्दा पनि डुंगा र पानीकै पर्खाईमा थियो सायद उ डुगामा चढेर डुंगा अगाडी बढेपछि खु:सिले आल्हादीत भएको प्रष्टै देखिन्थ्यो।। तालको चमलाउदो पानीमा गोधुली साँझको परावर्तनलाई उ पानीमा कति धेरै बत्ती बलेको भनेर कौतुहलमय प्रश्न मतिर हुत्याउदै थियो। जीवनसंगिनी सुबिता हल्लिएको डुंगामा डर र रोमन्चकता दुवै मीसाउदै थिईन्। त्यो प्रष्टै देखिराखेको थिए। मलाई त्यतिखेर अनायासै महाकबि लक्ष्मीप्रसाद देवकोटाको याद आयो। नेपाली बिलियम वर्ड्स्बर्थ भनेर हामीलेउच्चारण गर्ने गरेका यी  प्रक्रितिबादी कविले किन फेवातालको कबिता लेखेनछन् भनेर एकपल घोत्लिने मौका छोपेको थिएँ सबैको बिचमा हुदाहुदैपनि। 'बादल' शीर्षकमा कबिता लेख्ने यी कबिले फेवाताल र माछापुच्छ्रेको कबिता नलेख्नु आश्चर्यमय कुरा लागिरहेको थियो मलाई। पछि सायद महाकबि पोखरानै गएनछन् होला नि भनेर आफैलाई सम्झाएँ। त्यस्ता प्रक्रितिबादी कविले पोखरामै स्थायी बास गर्नुपर्ने हो  
 
 
पोखरा घुम्न जानेले उपत्यकाको उत्तरपट्टिको उच्च डाँडो सराङ्कोट नचढी फर्कियो भने त्यो मोहि मथेर घ्यू नखाई बसेको जत्तिकै हो। त्यो डाँडामा चढ्नुको दुईवटा महत्व छ। सूर्यको बिहानीको किरण माछापुच्छ्रेमा परेको सुनौलो द्रिश्य त्यो डाँडामा चढेर हेर्दा सम्पूर्ण हिमाल आफ्नै अगाडी उभिएझै लाग्छ भने पोखरामा प्याराग्लाईडीङ् गर्ने शुरुवाती बिन्दु पनि यही सराङ्कोटको डाँडोनै हो। केहि पैसा तिरेर प्याराग्लाईडिङ्मा अन्दाजी आधा घण्टाको उडानपछि तल फेवातालको किनारमा अवतरण गर्ने हजारौ आन्तरिक र बाह्य पर्यटकको त्यहाँ घुइचोनै लाग्छ। "सराङ्कोटैमा, मोहनी रहेछ तिम्रो ओठैमा" जस्ता थुप्रै नेपाली गीतहरुले सराङ्कोटको बखान त्यसै गरेका हैनन्। सराङ्कोट जाँदा वा फर्किदा बाटोमा पर्ने पोखराको प्रसिद्ध बिन्दबासिनी मन्दिरको दर्शन पनि गर्न सकिन्छ साथै बाटामै पर्ने एउटा अति भब्य र सुन्दर गुम्बाको पनि भ्रमण गर्न कदापी छुटाउनु हुँदैन भन्छु म त !
 

अव अर्को त्यस्तै उच्च डाँडोको कुरा गरौं। त्यो हो उपत्यकाको दक्षिणपट्टि पर्ने विश्व शान्ति स्तुप भको डाँडो। जिल्लाको पुम्दी भुम्दी गाबिसको एक उच्च डाँडो जसको नाम अनदु मीन थुम्कि हो, मा अवस्थित यो स्तुपको निर्माण कार्य बिसं २०३० बाटनै थालनी भएको थियो । पछि बिभिन्न बाधा र ब्यबधान झेल्दै बल्ल २०५६ सालमा यसको निर्माण कार्य सम्पन्न भएको थियो। जापानका बौद्ध भिक्षुको अथक प्रयासमा निर्मित यस स्वेत रंगको स्तुप सुन्दर र भब्य त छँदैछ, पोखरा शहर, फेवाताल र माछापुच्छ्रे हिमाल सहितको अन्नपूर्ण हिमाली श्रींखलालाई एकैपटक हेर्न सकिने अति उत्तम ठाउँ पनि हो। त्यहाँ पुग्नलाई हिडेर जानुनै रोमान्चक र चाखलाग्दो हुन्छ। सडकको बाटो घुमाउरो र कच्ची पनि छ।
 
पोखरा घुमाईलाई रोमान्चकारी बनाउने त अझ यहाँका तीन प्रमुख गुफाहरु हुन्। त्यति ठूलो सेती नदी साँगुरो गरि कताहो कता तल भासिएको देख्दा झन अचम्म लाग्छ। गुफामा महेन्द्र गुफा, गुप्तेश्वर गुफा र चमेरे गुफा प्रमुख रुपमा छिर्नै पर्ने गुफा हुन्। महेन्द्र गुफा सजिको र फराकिलो छ भने चमेरे गुफा अलि साँगुरो र अँध्यारो पनि। हजारौ चमेराले बास गरेको चमेरे गुफामा पस्दा कताकता सिनेमा हलमा हरर सो हेरेको याद दिलाउछ भने गुप्तेश्वर गुफामा लगातार भित्र पस्दै जाँदा सेती नदी फेला पर्छिन्। यसरी गुफाहरुको भ्रमणले मलाई चाहीँ के अनुभुति दिलायो भने पोखरा कतै बिलक्षण शक्तिको भरमा त अडिएको छैन ! हाम्रा हजुरबुवा, जिजुहजुरबाले सुनाउने गरेको दैवीय शक्तिको खेल झै !
 
पोखराको प्राक्रितीक सुन्दरता र यसको बिबिधताको यति धेरै बखान गरिसकेर पनि पोखराको शहरि सफाई ब्यबस्थापन र घरहरुको निर्माणमा देखिने एकरुपताको बारेमा केहि पनि नलेखिए पोखराप्रति अन्याननै हुनेछ। हो, यति कुरा ठोकेरनै भन्न सक्ने अवस्थामा म पुगेको छुकि, पोखराजस्तो ठूलो शहर भैकनपनि यहाँजस्ता राम्रा एकानासे घर र फराकिला सडक अन्य कुनै नेपालका शहरसँग छैनन्। हुनत म नेपालका अन्य कतिपय धेरै शहरमा पुगेको छैन। हो बरु धरान शहर धेरै कुरामा पोखरासँग मिल्दोजुल्जो छ। विराटनगर पूर्वकै ठूलो औधोगिक शहर हो तर सडकका प्रत्येक कुनामा साँढेहरु बग्रेल्ति बाटा छेकिरहेका हुन्छन्। आँडेपाँडे सडक र बग्रेल्ति फोहरको कुरै छोडौं। काठमाडौं शहरलाई पोखरासँग तुलना गर्ने हो भने हर प्रत्येक बिषयमा पोखराले २० पाउँदा काठमाडौंले १ पनि नपाउने अवस्था काठमाडौंको छ। पोखरामा सरसफाई र शहरी ब्यबस्थापन, टोल र समुदायको प्रत्यक्ष सहभागितामा चलेको छ तर त्यो काठमाडौंमा नगन्य मात्रामा मात्रै भेटिन्छ। त्यसैले काठमाडौंले अव पोखरा वा धरानबाट धेरैकुरा सिक्नुपर्छ।
 
      यो एउटा सानो लेखबाट प्राक्रितिक र आधुनिकताको संगम एउटा उदाउदो शहरको पूरापूर बर्णन गर्न भ्याईने कुरा पनि हैन तर अन्तिममा यति चाहिँ लेख्नै पर्ने मेरो कर्तब्य मान्दछुकि काठमाडौंमा बस्नुहुने मेरा आदरणीय साथी नेपाल दुबई डट् कम् का संचालक तथा संपादक दामोदर नेपालजीको सल्लाह र पोखराका आत्मीय साथी भक्त गुरुङ् र वहाँको परिवारको आतिथ्यमा मेरो यो पहिलो पोखरा घुमघाम एकदमै रोमान्चक र सफल रह्यो। मेरो सबैमा यो आह्वान पनि छ कि अव सके बिदेश त्यो नभएपनि देशभित्रका बिभिन्न दर्शनीय महत्व बोकेका ठाउँहरुमा घुम्ने बानीको बिकास गरौं। । यसले आन्तरिक पर्यटन मात्रै बढ्दैन तपाईंको मन र शरिर पनि झन् नयाँ र बलियो बन्छ ।
 
                          भोजपुर, हाल:दुवई,यूएई।
 

 
 
 
 

Tuesday, May 25, 2010

नेपालको यथार्थ धरातल र हालको माओवादी आन्दोलन

        -सुदीप अधिकारी-
       
        एनेकपा माओवादीले हालको सरकार बिरुद्ध छेडेको आन्दोलनको अनिश्चितकालीन हड्तालमयी स्वरुपलाई रोकेर, उसकै भनाईमा-सँगसँगै आन्दोलनका अन्य कार्यक्रम पनि घोषणा गर्दै जाने भनेको थियो।

        माधव नेपालले राजिनामा नदिएसम्म मरिगए हड्ताल नरोक्ने भनेर अडिग माओवादीले बैशाख २४ मा हड्ताल रोकेकोमा स्वदेशि-बिदेशी सबै राजनीतिक बिश्लेसकहरु केहि आश्चर्यमा अवश्यै परेका छन्। किनकि यो पार्टीले आन्दोलनको कार्यक्रम शसक्त र दिगो बन्न सकोस् भनेर गाउँ गाउँबाट मान्छेहरुलाई काठमाडौंमा भित्र्याएको थियो त्यो पनि रसद पानीको बन्दोबस्त सहित। एक हिसावले भन्ने हो भने ति उपत्यका बाहिरवाट आएका वा भित्र्याइएका मान्छेहरु मानौ कुनै मलायाको युद्दमा महिनैको लागी हिंडेका लाहुरेझै गर वा मरको कसम खाएर हिडेका थिए तर उद्धेश्यको एक फित्को पनि पनि प्राप्त नभैकन उसले आम हड्तालजस्तो उत्कर्षको अवस्थालाई तातिएको फलाममा चिसो पानी हालेझै गरि आफ्नै आन्दोलनलाई चिस्याएको छ।

        यसरी आन्दोलनको कडा स्वरुपलाई रोक्नुमा भित्री बिभिन्न कारणहरु वा उसको आफ्नै बिश्लेसण हुन सक्छ तर जे जस्तो भएपनि माओवादीले आन्दोलन नरोकिएको र त्यसलाई आवश्यकतानुरुप रुपमा चाहिं परिवर्तन गर्दै लाने भनेको छ। समय भने यति तरल देखिएको छ कि सरकार पक्ष र माओवादीबिच सहमति र सहकार्य भन्दा आरोप-प्रत्यारोप अनि युद्दका कुरानै बढि हुने संभावना देखिएका छन्।

        बाहिरबाट झट्ट हेर्दाखेरि यो आन्दोलन पहिले पहिलेकाजस्तै देखिएपनि यो आन्दोलनले वास्तबमा धेरै प्रश्नको उत्तर खोजेको छ। मूलभुत रुपमा यो संसदीय प्रणालीका पक्षधर र यसलाई नमान्ने अधिनायकबादको पक्षपोषक माओवादी पार्टीबिचको सैद्धान्तीक द्वन्द हो। र, माओवादी पार्टीले बाहिर खुलस्त नभने पनि यो माओवादीले आफ्नो सैद्धान्तिक विजयको लागी संसदवादीहरुसँग लड्दै गरेको सायद अन्तिम, त्यति नभएपनि अन्तिममध्येको एउटा लडाई चाहिं हो।

        बिगतलाईनै पल्टाएर हेर्ने हो भने माओवादीले २०५२ सालमा जनयुद्ध थाल्दा पनि राज्य प्रशासन संचालन गर्नेहरुमा अहिलेकै ब्यक्ति, ब्यक्तित्व वा पार्टीहरु आसिन थिए। राजा बीरेन्द्रले कत्ति पनि राज्य संचालनमा हस्तक्षेप गरेका थिएनन्। कांग्रेस, एमाले वा राप्रपाहरुले पालोगरि-गरि मिलिभगतमा कारिगरी शासन निर्वाध चलाउन पाएका थिए। र, राजनैतिक रुपमा कम चेतनशील जनताको दवाव पनि कम हुन्थ्यो ६२-६३ को आन्दोलन भन्दा पहिलेको नेपालको परिस्थितिमा।

        २०४६ सालमा बहुदल त आयो तर त्यो वर्षौसम्म पनि अति पिछडिएका क्षेत्र, जनजाती वा गरिव निमुखासम्म पुग्दै पुगेन, बहुदल काठमाडौ खाल्डोमै उन्मक्त नाच देखाएर बसिरह्यो वा बसाइयो भन्दा हुन्छ। सायद यसैको परिणाम थियो माओवादीको जनयुद्ध। भन्न करै लाग्छ अहिले, माओवादीको प्रमुख द् व्न्द्व राजासँग भन्दा पनि बढी संससदवादी पार्टीहरुसँग उग्र र कडा रहेछ। किनकि राजा पनि उतिखेर संसदवादी पार्टीहरुले ओढाइदिएको छाता ओढेर बस्दा मात्रै बलिया देखिएका थिए। अव त्यो छाता आफै ओढ्ने तागत थेग्न भने एमाले, कांग्रेसलाई गार्हो पर्दै गैरहेको देखिन्छ।

        भनाईमा 'जन आन्दोलन-३' नामाकरण दिए पनि जनताको जन-जिवीकाको सवाललाई कत्ति पनि नउठाएर खाली प्रधानमंत्री परिवर्तनको रडाको मात्रै मच्चाएको सन्देश जनतामा गएको देखिन्छ यो आन्दोलवाट। अर्कोतर्फ माओवादीले आन्दोलनलाई राजधानिमै केन्द्रीत गर्ने भैसकेपछि यसले अनिश्चितकालीन हड्तालजस्तो कठोर कार्यक्रम थाल्नुअधि शहरिया बासिन्दाको मनोबिग्यानको अध्ययन राम्ररी गर्नुपर्थ्यो। किनकि शहरीया बासिन्दा बढिजसो ब्यापार, ब्यवसायमा लागेका हुन्छन् यसर्थ उनीहरुसँग यथेष्ठ पैसाको संचिती पनि हुन्छ र पेशा तथा सीपमा ग्रामिण भेगका जनता भन्दा आम्दानी निकाल्नमा अगाडीनै हुन्छन्। यसकारण शहरी बासिन्दा पैसा, बल र केहि बुद्दी लगाएर भएपनि सानातिना बन्द वा आम हड्ताललाई सजिलै चपाउने क्षमता राख्दछन्। यहि क्षमताको उपयोग गरेर माओवादीको ६ दिने लमतन्ने आम हड्ताललाई पनि काठमाडौ लगायत अन्य शहरवासीले पराजीत गरेको देखिएको छ। एकातर्फ माओवादी आन्दोलनले जनलहर पनि ल्याउन सकेको देखिएन भने अर्को अर्थमा सर्वसाधारण स्व-स्फूर्त रुपमा आन्दोलनमा हजारौका हजार सहभागी भएको अवस्था भए सरकारलाई वास्तबमै 'धक्का' लाग्थ्यो र यो सरकार राजिनामाको तयारिमा लाग्थ्यो तर माधव नेपाल प्रशासनलाई कत्ति पनि दवाव परेको देखिएन। जवर्जस्ती रुपमा दवाव नपरेको जस्तो देखाउने कोशिस त सबै सरकारले गर्छन् कुनै पनि बिपक्षीका आन्दोलनका बेला तर यो सरकार बढिनै ढुक्क देखियो यत्रो देशब्यापी आम हड्तालको बेला पनि। किन सरकारले दवावको महसुस गर्ननै चाहेन त ! यसका पछाडी केहि तर प्रष्ट कुराहरु छन्।

        प्रथमत: नेपाली जनता बन्द वा हड्तालबाट वाक्क-दिक्क भैसकेका छन्। जुनसुकै पार्टी वा पक्षले आह्वान गरेको भएपनि जनता र राष्ट्रको समग्र भलाईको लागी बन्द नगरिनै नहुने कुरा भएको भनेर जनतालाई बिश्वासमा पार्न सकेको अवस्थामा मात्रै अव जनताले बन्दलाई साथ दिनेवाला छन्। हिजोका तन्नम र गरिव देश आज प्रगतिको रफ्तारमा हुईकिएको द्रिश्य आफ्नै आँखा अगाडी नेपाली जनताहरुले देखिरहेका छन् र ब्यवहारमा पनि अनुभव गरिरहेका छन्। यो ग्यान र मनोनिग्यानले पनि नेपालीहरु अव आर्थिक रुपले देशलाई तहस-नहस पार्ने बन्द-हड्तालजस्तो कार्यक्रममा साथ दिन कत्ति पनि तयार नहुन थालेका हुन्। र, यो कुरालाई आजको सबैभन्दा परिवर्तनकामी र ठूलो राजनीतिक पार्टी एनेकपा माओवादीले त झन बढि मनन् गर्नुपर्ने बिषय हो। माओवादी पार्टीले बोकेको राजनीतिक सोचको लक्ष पुरा गर्ने कार्यको गतिशिलताको लागी भलै आन्दोलन गर्नुपर्ने हुनसक्ला तर त्यो शिक्षामा प्रगतिको योजना अगाडी सारेर, जनताले दैनिक भोगेका समस्या (जुन देख्नमा साना लाग्छ्न्)को समाधानमा नीति र कार्यान्वनमा अगाडी सरेर वा देशको प्राक्रितिक धनलाई उद्ध्योग-धन्दाको स्थापना गरि त्यसलाई अधिकतम प्रयोग गर्ने गुरुयोजना अगाडी सारेर मात्रै आजका बहुसंख्यक नेपालीको मन जित्न सक्ने अवस्था यथार्थता हो। सरकार परिवर्तनले केही हुदैन भन्ने गहिरो छाप नेपाली जनतामा धेरै पहिलेवाट परिसकेको छ। तर यदि पहिलेको माओवादीको राज्य प्रशासनको समयमा बाबुराम भट्टराई एक्लैले 'भ्यागुतो उफ्रने आर्थिक प्रगति'को कुरो नगरेर सम्पूर्ण सरकारका तर्फवाट जनकल्याणकारी, देश बिकासमा आधारित तात्कालीक कार्यक्रमहरु शुरुवात सम्म गरेको भए माओवादी जनताको मनमा यसरी बस्थ्यो कि उसले नेपललाई एशियाको नव सम्पन्न राष्ट्र नवनाइन्जेल शासन गरिरहेको हुन्थ्यो। अवत: माओवादीले भारतले हामीलाई हेप्यो भनेर रुनु-कराउनुको पनि केहि अर्थ छैन। समग्र रुपमा शिक्षा, संचार , प्रबिधिको बिकासले लामो आर्थिक फड्को मारिसकेको ठूलो देशले सानो छिमेकी तर बिकासको बाटो नपहिल्याएर जहिल्यै पनि सत्ताको लागी कुकुर-बिरालोझै झगडामा लिप्त भैरह्ने देशलाई ओजिलो ब्यवहार गर्ला भनेर आश राख्नु बेकारकै कुरा हो नि ! र, नेपालको यो अवस्था आउनुमा काँग्रेस र एमाले पनि उत्तिकै जिम्मेवार छन्।

        त्यसैले यदि माओवादी अरुभन्दा अलग्गै र ठूलो पार्टी भैरहन चाहन्छ भने हतियारको दम्भ त्यागेर, बहुमत जनताको मनलाई बुझेर देश निर्माणको अभियानमै आफूलाई अग्रसर गराईरहने हो भने एक जिल्लाका कार्यकर्तालाई आन्दोलनको लागी अर्को जिल्लामा हातमा लाठि-मुङ्ग्रा बोकाएर ओसारीरहनै पर्दैन। जुन ठाउँमा आन्दोलन गर्ने हो त्यहि ठाउँका मान्छे आफसेआफ जुर्मुराएर उठ्नेछन्। स्थानिय जनताको भलाई त्यहि ठाउँका मानिसले गरेमात्रै दिगो हुन्छ, स्थायी हुन्छ।

हाल: दुवई, यू. ए. ई.।





Wednesday, February 24, 2010

खाडी, जहाँ नेपाली चेलीहरु रोईरहेछन्

-सुदीप अधिकारी-
           खाडीमा घरेलु कामदारको रुपमा आएका नेपाली चेलीका पीडा र बेदनाहरु छापाहरुमा हिजोआज लगातार आउने क्रम जारी छ। अहिले यसरी ह्वात्तै तिनीहरुको देश फिर्तीका खबरहरु बढेका भएपनि दु:ख पाउने  क्रम पहिलेदेखिनै जारी थियो। बरु हामीले हिजोआज किन यसरी दु:ख, पीडाका खबरहरु ह्वात्तै बढे, त्यसको लेखाजोखा नगरि नहुने बेला आएको तर्फ भने सबै सचेत हुनै पर्छ।
श्रम शोषण र हिंसा सहन नसकेपछि नेपाली दुतावास
साउदी अरवको शरणमा पुगेका यी छ नेपाली चेलीहरु गत
जनवरीमा दुतावासकै सहयोगमा नेपाल फर्कीसकेका छन्।

                  थोरैमात्रै गहिरिएर हेर्ने हो भने मूल रुपमा हाम्रो देशको कहालिलाग्दो बेरोजगारीनै यसरी घटिरहने घटनाका कारक तत्व हुन्। तीन करोड पुग्न लागिसकेको देशको जनसंख्याको मूल प्रबाह ,जो युवा बर्ग हो, त्यो उकुस-मुकुसपूर्ण जीवन बाँच्न बाध्य छ अहिलेको 'नयाँ नेपालमा'। प्रत्येक बर्ष लाखौंको संख्यामा नव युवा युवतीहरु एस० एल० सी० पास गरि उच्च शिक्षाको बाटो समात्दछन् साथै ती मध्ये अधिकांशले भबिष्यको रोजगारी तथा अपनाउने ब्यबसायको सपना पनि बुन्न थालिसकेका हुन्छन्। तर हाम्रो देशको अन्तहिन क्रान्ति र आन्दोलनका श्रींखलाहरुले अधिकांश नेपाली युवाहरु कुंण्ठित बनाईएका छन्। साँच्चै भन्ने हो भने अहिलेको देशको परिबेशमा यूवाका लागी मुख्यत दुईवटा बाटामात्रै प्रष्ट छन्- या कुनै एक राजनीतिक पार्टीको कट्टर कार्यकर्ता हुने या त कुनै पनि तरिकाले बिदेश छिर्ने ! ४६ सालपछिको बहुदल प्राप्ती पछि बनेका सरकारले पनि यही निती लिएका थिए। पुराना राजनीतिक खेलाडीहरुले भरिएको त्यतिखेरका सरकारका श्रम मन्त्रीहरुलाई सकेसम्म मलेसीया जस्तो नयाँ "सस्तो तलब गन्तब्य" खुलाउन खुब कसरत गर्न भनियो र अन्ततोगत्वा बङ्लादेशी कामदारले पूरै हडपेको मलेसीयाको श्रम बजारमा नेपाली मेहनती हातहरु सजिलै अनि सस्तैमा निर्यात हुन बाध्य बनाइयो। सरकारमा जाने सबैलाई पालै पालो गरि हालीमुहाली मच्चाउनु थियो, त्यसैले युवाको अथाह सागरलाई थाम्न नसक्ने देखेपछि र देशमा औधिगिकरण कछुवाको भन्दा सारै धीमा गति हुँदाको अवस्थामा निती निर्माताहरुले यहि एउटा बाटो देखे कि सकेसम्म युवाहरुलाई बिदेशतिरै हुत्याउनु पर्छ। अहिले ती हर नेपालीहरुलाई आफू बिदेशिनुको पिडा कहिल्यै नहट्ने ऐजेरु बनिदिएको छ। एस० एल० सी० र उच्च शिक्षामा राम्रो नम्बर ल्याउने धनीका छोराछोरीहरु बिध्यार्थी भिसाको माध्यमबाट बेलायत, अमेरिका ताक्छन् भने बाँकीको लागी कोरीया, खाडी र मलेसीयाहरु आफै छुट्टिन्छ। यहाँ पनि राम्रै वर्ग बिभाजन छ। तर बिदेशिएका मध्येमा नेपाली संचार माध्यमले समेत कम आँकलेर लेख्ने गरेको यो बर्गमा पर्ने मलेसिया, खाडी तथा कोरीयातिर काम गर्ने कामदारको रेमीटेन्सले पूरै माओवादी जनयुद्धकाल्को अर्थतन्त्र धानीएको भनेर खुब रटान लगाइन्थ्यो। बरु हिजोआज रोजगारीको बाटो कुन हो भनेर केही भन्न नसक्ने हाम्रा नेपाली अर्थशास्त्रीहरु तीनै रातदीनको कमाई सरासर नेपाल पठाउने कामदारलाई नेपालमा महंगी बढाए भनेर पो गाली गर्न तम्सेका देखिन्छन्।

                  यो माथिको प्रिष्टभूमीपछि अव फेरी नेपाली चेलीहरुले अति दु:ख पाईरहेको ठाउँ खाडीतिरै फर्कौं। केही समय पहिले थुप्रै नेपाली महिलाले शोशण खप्न नसकेर आत्महत्या गरेका भनिएको देश लेवनान होस् वा खाडीका साउदी अरब लगायतका तेलबाट धनी बनेका अन्य देश हुन् सबै मरुभूमीमा पैसाको बलमा जबर्जस्ती खडा गरिएका गगन्चुम्बी महलहरुले भरिएको, तर सँधै क्रितिम अनुभुत हुने देश हुन्। प्रत्येक कुरा पैसाको बलमा खडा गरिएको हुनाले यहाँका मानिसहरु, खासगरी ब्यापारीहरु पैसाभन्दा अन्य कुरालाई एकदमै गौण ठान्दछन्। बर्षभरिमा आधाभन्दा बढी महिना एकदमै गर्मी हुने हुनाले यहाँका मानिसहरुका दीनहरु बाहिरको खुल्ला चहलपहलमय हाम्रो देशका रत्नपार्क वा बानेश्वरको जस्तो दैनीकि नभएर कि त आफ्नै घरभित्रै कि भब्य-भब्य सपिङ् मलहरुमा बित्ने बाध्यात्मक अवस्थानै हो। यसरी प्रक्रितिका रंगिबिरंगी छटाहरुले पूरा साथ नदिएको देशका स्थानीय नागरिकहरुको सामाजीक सोच र स्वभाब पनि अलग हुनेनै भयो। त्यहि सोच र धन नेपाली लगायत बिदेशी घरेलु महिला कामदारहरु शोसित हुनमा जिम्मेवार छ। यही मनोबैग्यानीक अवस्थाको बिश्लेशण नगरि हामीले हाम्रा सरल, सह्रदयी नेपाली नारीहरुलाई यस्तो जटिल सामाजीक अवस्था भएका ठाउँका उन्मक्त धनी घरमालीकहरुका निजी रावणराज चल्ने चार दिवारीभित्र रोजगार गर्न जाउ भन्नु भनेको हाम्रो आफ्नै कमजोर सोचको तस्बिर नाङो हुनु हो। प्रक्रितिको सुन्दरतासँग लडिबुडी गर्न नपाउने यी कम-अध्ययशिल तर घर र गाडीका सौखिन अरबी मालीकहरु यहाँ काम गर्ने घरेलु कामदारहरुलाई आफ्नो उपयोगको साधन सम्झन्छन्। यहि मानसिकताबाट वाक्क भएर खाडी राष्ट्रमा सबैभन्दा बढी घरेलु कामदार पठाउने देश फिलिपिन्सले अहिले सकभर संगठित संस्था वा कम्पनीमा कामदारलाई जान प्रोत्साहन गर्न थालेको छ जुन ‘साप पनि मर्ने लट्ठी पनि नभाचिने’ उसको उपाय देखिन्छ। बोल्न र काम गर्न खप्पिस फिलीपीनी महिलाहरुलाई त अरबीको घर भूतघर बन्यो भने औसत सरल नेपाली महिलाहरुले ती महलहरुमा इज्जतपूण काम गर्न पाउने कुरा सयमा पन्ध्रजस्तो मात्रै हो। औसत रुपमा पश्चिमा वा भारतीयका घरमा काम गर्नेहरु घरेलु कामदार भने खु:सीनै देखिएका छन्।

                  केहि समय पहिले कान्तिपुर टेलीभिजनबाट प्रसारित एउटा कार्यक्रममा नेपाली महिलाहरु खाडीमा काम गर्न जाने उध्येश्यसहित कसरी राहदानी बनाउन मरिहत्ते गरिरहेका छन् तर उनीहरुमध्ये धेरैलाईत: खाडी राष्ट्रमा घरेलु कामदारमा जानु अबैद्द हो भन्ने थाहै नभएको भन्ने देखाईएको थियो। घरेलु कामदारको बारेको त्यो रिपोर्टिङ्लाई सरसर्ती अध्ययन गर्ने हो भने हाम्रा चेलीलाई अबैद्द रुपमा खाडी पठाइनु देश देखी बिदेशसम्म छरपष्ट भरिएका नेपाली दलालहरुकै कारणले हो भन्ने प्रष्टिन्छ। जव जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउन जाने अबोध नेपाली नारीलाई राहदानीको दस्तुर कति लाग्छ भनेर थाहा भएको हुँदैन तव तिनलाई भारतको बाटो भएर खाडीको अनकण्टार घरमा हुत्याउने मानव दलालको पर्दाभित्रको खेलको गन्ध सो प्रसारित कार्यक्रमबाट सजिलै बुझ्न सकिन्छ। अब हामी सचेत नेपालीहरुले यो प्रष्ट बुझ्ने कुरा हो कि नेपाली महिलाहरुलाई कन्तबिजोगको अवस्थामा लैजान हाम्रा नेपाली दलालहरुले कति खतरानक खेल खेलीरहेका छन्! त्यो खेलमा जिल्ला प्रशासन परिसर बरिपरि घुम्ने दलालमात्रै हैनन् उपियाँको भेसमा भित्रै पनि गलत कार्यमा कोहि लागेका छन् कि भनेर बुझ्ने कार्य राज्यको कानुन पालना गराउने र कार्यन्वयन गराउने निकायको पनि त हो! यसरी नेपाली सामाजिक मूल्य र मान्यतालाई हल्लाउने गरि हाम्रै नेपाली चेलीहरुका आर्तनादहरु नेपाली आँगनमा रगत पोखिएझै पोखिंदा यस देशको प्रहरी मात्र हैन प्रधानमंत्री र सम्माननीय राष्ट्रपतीले पनि कति दिन अव कानमा तेल हालेर बसिरहन मिल्छ! देश बिदेशका नेपाली सम्पूर्णले यसको कारण र समाधानका उपाय खोज्न सरकारलाई सघाउन तयार पनि छन् र तुरुन्तै यसतर्फ अग्रसरताको बाटो पहिल्याउन सरकारसँग आग्रह गर्दछन्।

समाप्त
दुवई, यु.ए.ई.

Wednesday, May 20, 2009

खाडीमा बाढी र नेपालमा लामो खडेरी

-सुदीप अधिकारी-
मरुभूमिको देशको रुपमा चिनिने खाडी राष्ट्र संयुक्त अरव इमिरेट्स यसपाली को मार्च र अप्रिल महिना आधाउधि झरिमा रुझिरह्यो। य्रतिमात्र हैन कल्पनानै नगरिएको,खाडीमा बाढीपनि आयो र जसको कारणले रस अल खेमा भन्ने ठाउँमा बाढीको पानीले बनेको क्रितिम तलैयामा एक स्थानीय १४ बर्षे बालकको डुबेर म्रित्युसमेत भयो। सुख्खा हावाको कारणले प्राय: बर्षमा एक पटक एक-दुई दिन मात्र पानी पर्ने यो देशमा यसरी लामो समयसम्म पानी पर्न थालेपछि आम मानिसहरु रोमान्चित त बनेकानै छन् आश्चर्यचकित पनि भएका छन्।
यसो हुनुमा अव हाम्रो नेपालमा मात्र हैन जलवायु परिवर्तनको असर खाडी राष्ट्रमा पनि देखा पर्न थालेको छ भन्ने कुराको संकेतनै हो। मे, जुन, जुलाई र अगष्ट महिना मध्यपुर्वका ओमान, संयुक्त अरव इमिरेट्स (यु० ए० इ०), बहराईन, कतार, साउदी अरेविया तथा इराक लगायतका राष्ट्रका लागी एकदमै गर्मी महिना हो र नेपालीहरु कार्यरत रहेका खाडीका देशपनि मुख्य यिनै हुन् । यो प्रदेशमा जुलाई, अगष्ट महिनामा थर्मामिटरमा तापक्रमको उचाईले ४८ सम्म छुनुलाई नियमितनै मानिन्छ साथसाथै नेपालको लागी जुन, जुलाई महिना बर्षात् ऋतु भएपनि यहाँ भने यो समय पटक्कै पानी नपर्ने महिनामा गनिन्छन्। । अव यसपालि जुलाई, अगस्टमा पनि पानी पर्यो भने अर्को आश्चर्य बन्न पुग्नेछ।
हीमालयको ओतमुनि अवस्थित नेपालको यसपालीको हिं उदको लामो समय पानी नपरिनै बित्यो। तल्ला तटीय नेपाली हिमालहरु हिं उ पग्लेका कारण काला नाङो पर्बतमा परिणत हुदै गइरहेका छ्न्। बालाजुको बाईस धाराबाट ५-७ बर्ष अघिसम्म पनि पानीका लस्करै धाराहरु झर्थे। बाईस धारा मात्र हैन काठमाडौ उपत्यकाका अन्य ढुङे धाराबाट पानी झर्न छोडेको धेरै पहिलेदेखिनै हो। शहरमा मात्र हैन गाउँ-गाउँमा खानेपानीको हाहाकार छ।बालीनालीको लागि सिंचाईको पानीको अभाबले फसलको उत्पादन एकदमै घटेको छ। सायद सरकारले "बिद्दुत् संकटकाल"को घोषणा पछि अव "खाध्यान्न संकटकाल" घोषणा गर्ने भित्र-भित्र तयारी गर्दै होला।
जलबायु परिवर्तनको मुख्य दोशी हामी जस्ता अति कम बिकशित राष्ट्र नभएर बिश्वका धनीमानी औधोगिक राष्ट्र हुन् भन्ने सबैलाई थाहा छ। हरितग्रिह ग्यासको उत्सर्जनलेनै ओजन तहलाई बिनास गर्दै लगेको हो अनि तापक्रमको ब्रिद्धि पनि। तर जलबायु परिबर्तनको असर भने प्रिथ्वीका हर प्राणी तथा बनस्पतिले भोग्नुपर्ने देखिएको छ। वास्तबमा जलबायु परिबर्तनको असर बढ्दै गयो भने त्यसको भयाबह असर हाम्रो जस्तो पर्वतिय पहाडी आनि हीमाली श्रिङ्खला भएको देशले निकै कष्ट रुपमा झेल्नुपर्नेछ। द्रुत गतिमा हिं उ पग्लेको कारणले कमसेकम ५० वटा ठुला हिमताल निर्माण भैसकेका र ती पनि बढ्दै जाने क्रममा रहेको कुरा बिभिन्न संचार-माध्यमबाट बहिर आ इसकेको छ। ती एक एक गर्दै फुटे भने त्यसले के मात्रै बिनास गर्दैन त्यो भयाबह अवस्थाको आगमनको कल्पनानै नगर्नु उचित हुन्छ होला। नेपाल त के भारत र बंगलादेशमा झन बढी सत्यानास हुनेछ। बिजुली निकाली त्यसलाई बेचेर डलर कमाई देशलाई धनी बनाउने सपना बुनीरहेको हाम्रो नयाँ नेपालमा नदी तथा खोलाहरु सुक्दै गएभने के हबिगत हुन्छ होला त्यो हामी प्रत्येक नेपालीले लिनैपर्ने चासोको बिषय हो र बन्नुपर्छ पनि। सेता हिमालमा हिं उनै हराउन थाले भने कुन बिदेशी नेपालमा दर्जनौ घण्टाको प्लेन यात्रा गरिगरि यहाँसम्म आइपुग्ला ! नीला ताल र हरिया फाँटनै हराउदै गए भने कुन साइबेरियाली पंक्षि यति लामो यात्राको पोको पन्तुरो बुन्ला ! हिजोआझ नेपालका ताल तलैयामा आ उने गरेझै । अहँ कोहिपनि यतापट्टि यस्सो फर्केर पनि हेर्न मन गर्ने छैनन्। यदि हाम्रो चारकोशे झाडीको चारकोशबाट एक मीटर जंगल पनि बाकी रहेन भने अनि हिमालबाट हिं उनै गायब भ इदियो भने हाम्रो देश अर्को खाडी बन्ने छ तर तेल बिनाको ! अनि हाम्रो देश कहिल्यै समाधान नहुने ग्रिहयुद्धको चपेटामा पर्नेछ। ए उटा रुखको बुट्यानको लागी भाई-भाईमा माराकाट हुनेछ, एक ट्यांकर पानीको लागी काठमाडौंजस्तो शहरमा गोली हानाहान हुनेछ।
मरुभूमिको यो देश यु० ए० ई०मा दुई-तीन यताका बर्षहरुमा त्यसै बढी पानी पर्न थालेको भने हैन। हामीलाई तेलको जति महत्व छ त्यो भन्दा धेरै बढी चासो यहाँका मानिसहरुमा हरीयालिप्रति छ। यहाँको नगरपालीका यति जागरुक छ कि खाली जग्गा देख्नासाथ, कि दुबो लगाउन, खजुरको बोट रोप्न वा थरिथरिका फूल फूलाउन जहाँपनि पुगिहाल्छ। निजी घर बनाउनेहरु घरको जग खन्दाखन्दै कम्पाउण्ड वरिपरि बिभिन्न जातिका बिरुवा लगाउन थालिहाल्छन्। मलको र पानीको राम्रो बन्दोबस्त भएको हुनाले होला यहाँका निजी आवास क्षेत्र त पुरै हरियालीले ढाकीएको हुन्छ। जता गयो हरियोनै हरियो देखिन थालेको छ। गोदावरी तथा थानकोट जस्ता पार्कलाईपनि भुलाउने भव्य हरिया पार्कहरु थुप्रै भैसकेका छन्। ती पार्कमा हरिया झाङ् बढ्दै गएकाले होला ढुकुर, रुप्पी, जुरेली, भगेरा जस्ता चराहरुको चिरबिर मनग्गे सुन्न पाइन थालेको छ। यो हरियालीको अभियानलाई यहाँको सरकारले अरु महात्वाकांक्षि बनाउने घोषणा गरिसकेको छ। तेल र ब्यापारले कमाएको पैसालाई ब्यवस्थित शहरिकरण र ब्रिक्षारोपणमा लगाउनाले गर्दा यु० ए० ई० ए उटा अति आकर्षक हरियालीले भरिएको देशमा परिणत हुदै गएको आजको यथार्थता हो। पानी परोस भनेर यहाँका राजाहरुले सामुहिक रुपले प्रार्थना गर्ने गरेकोमा अव त्यो गरिरहनु पनि परेको छैन।
भूमण्डलीय तापमान ब्रिद्धीमा बिकशित औधोगिक राष्ट्रको प्रमुख दोश भएपनि त्यसको प्रभाब हाम्रो सुन्दर देश नेपालमा बढी पर्न नदिन हामीलेनै आफ्नो तर्फबाट तत्कालै केहि न केहि गर्न शुरु गरिहाल्नुपर्ने देखिन्छ। तल केहि मुख्य बुँदाहरुको बारेमा छलफल गर्ने प्रयास गरिएको छ।

बनबिनाशमा रोकावट र ब्रिक्षारोपण

मानिस लगायत सम्पूर्ण जीवलाई बाँच्नको लागि अक्सिजन चाहिन्छ। तर त्यो अक्सिजनको श्रोत भनेको हरिया बोट बिरुवाहरुनै हुन्। तर छर्लङै देखिएको कुरा यो हो कि जतिजति मानिस लगायतका जीवहरुको संख्या यो प्रिथ्वीमा बढ्दै गईरहेको छ त्यतिकै मात्रामा हरिया घाँसे चौर, झाडी तथा घना जंगलहरु मासिदै गएका छन्। यसले गर्दा स्वत: जैवीक असन्तुलन बढ्न गइ रोगब्याधीहरुले मानिसलाई सजिलै गाँज्न थालेको अवस्था छ। दिनदिनै नयाँ नयाँ नामका रोग देखा पर्दै गइरहेका छन् र स्वास्थ्यबिज्ञानलाई ती नयाँ रोग बिरुध्ध लड्न हम्मे हम्मे परिरहेको देखिदै पनि छ। विश्व परिस्थितिलाई छोडेर नेपाललाईनै नियालौं, शहरमा मात्र हैन गाउँ ठाउँमा समेत डाईबिटीज र उच्च रक्तचापका बिमारीहरु स्वात्तै बढेका छ्न्। अझ डाक्टरहरु त नेपाललाई मानसिक बिमारीहरुको देश भन्न थालिसकेका छन्। यस्तो अवस्था आउनुमा हाम्रै गलत दिनचर्या प्रमुख जिम्मेवार भएपनि मुख्य रुपमा हामीले लिने स्वासमा दुशीत कुराहरु मिसिनु हो। शहरको हावामा धुलो र धुवाँको मात्रा अतिनै बढी छ भने ग्रामिण इलाकामा स्वस्थ खानेपानीको ठूलो अभाव छ। बनजंगल फडानीको कारणले ग्रामीण क्षेत्रका धेरै धारा, कुवाहरुवाट पानी हराउदै गएको अवस्था छ।
बनजंगलले प्राणी र वनस्पति बिचको इकोसिस्टमको सम्बन्धलाई ठिकठाक रुपमा मिलाएर राखेको हुन्छ तर यदि त्यस्तो अवस्थामा बिचलनको क्रम बढ्दै जान थाल्यो भने अतिब्रिष्टि, अनाब्रिष्टि, बाढि, पहिरो, बनडढेलो , असिनापात जस्ता प्रकोपहरु बढ्दै जान थाल्छन्। र, यहि कुरालाई मध्यनजर राखेर हाम्रो देशमा सामुदायीक बनको अवधारणा ल्याइएको थियो र जुन अत्यधिक सफल भएको अभियान पनि हो। २०५७ बैशाख १६ मा सरकारले निर्णय गरेरनै वन क्षेत्रको जग्गा अन्य फरक प्रयोजनको लागी उपयोग गर्न नदिने प्रतिबध्धता ब्यक्त गरेको थियो। वास्तवमा सामुदायीक बनको अभियानले बन छेउछाउका बासिन्दालाई कसरी बनको संरक्षण र प्रयोगमा सन्तुलन ल्याउने भन्ने कुराको शिक्षा दियो साथै त्यसै रहेका नाङ्गा पाखाहरुमा जागरुक गाँउलेहरुले ब्रिक्षारोपणको आन्दोलननै चलाए। स्थानीय सहभागीता नभई कुनै पनि कार्यक्रम सफल हुदैन भन्ने अवधारणालाई आधार मानेर शुरु गरिएको सामुदायीक बनको जागरणको फलस्वरुप हाल ११ हजार सामुदायीक बन संचालनमा छन् भने यसवाट १२ लाख घरपरिवारका झण्डै ६० लाख जनताले बन पैदावरको फाईदा लीइरहेका छन्।
तर बनको ताजा अवस्था भने बेग्लै छ। बनडढेलोको कारणले देशभरिमै सैयौं हेक्टर बन नाङ्गो पाखोमा परिणत हुदै गइरहेको छ भने चुरे तथा भित्री तराईमा बन फडानी गर्ने काम जोडतोडले चलिरहेको छ। चोरि निकाशी गर्नेहरुको बिगबिगी साथै कहिलेकाहिं सरकार आफै सुकुम्बासीहरुको समस्या समाधान गर्ने जस्ता नाममा ठूलो परिमाणमा जंगल फडानी गर्ने काम भइराखेको छ। पहाडी क्षेत्रवाट बसाई सर्नेहरुपनि प्राय: तराईनै झर्ने हुँदा तराईको जंगल खतरै खतराबाट घेरिएको छ। साथसाथै गणतन्त्रको स्थापना भएयेता तराई क्षेत्रमा हतियारधारी राजनीतिक तथा गैर-राजनीतिक शक्तिहरुको उदय भएको र तिनीहरुले पनि जंगललाई शरण तथा राजनीतिको आधार बनाएको हुनाले के-कति जंगल मासिइसक्यो त्यसको केहि लेखाजोखा छैन। तर बन मासिने क्रम भने निरन्तर जारी छ तराईमा। तर यो पनि चाहना भए रोक्न नसकिने कुरा भने हैन। बन मासिदा स्वयं आफू बस्ने ठाउँलाईनै हानी गर्ने हुनाले त्यो कुराको जानकारी र शिक्षा बिभिन्न संचारका साधनबाट निरन्तर फैलाईरहने हो भने स्थानीय जनताहरु बिस्तारै जंगलको हिफाजतमा अग्रसर हुन थाल्नेछन्। यसरि बन-जंगलको बिनासलाई रोक्ने अनि ब्रिक्षारोपणको अभियानलाई नेपालभरी फैलाई हामी नेपाली, जलवायु परिवर्तनबाट हुने असरलाई धेरै हदसम्म कम गर्ने सक्छौं।

जनसंख्याको ब्रिद्धिदरमा नियन्त्रण

जनसंख्याको ब्रिद्धिदरमा नियन्त्रण गरेर जलवायु परिवर्तनको बज्रप्रहारबाट नेपाललाई हामी सजिलै जोगाउन सक्छौ। हामीसँग जे जति प्राक्रितिक श्रोत उपलब्ध छन् तिनलाई प्रयोग गर्ने जनसंख्या उच्च रुपमा बढ्न नदिनुनै प्रत्येक नागरिकको जिम्मेवारी तथा कर्तब्य हो। यदि जनसंख्या ब्रिद्धी अहिलेको जस्तो २ दशमलव २५ प्रतिशतले ब्रिद्धी हुदै जाने हो भने २०५८ सालको २ करोड ३१ लाख जनसंख्या ३१ बर्षपछिनै दोब्बर हुने निश्चित छ। हाल नेपालको जनसंख्या २ करोड ९५ लाख पुगिसकेको बताइन्छ र बिश्वमा सबैभन्दा बढि जनसंख्याको हिसावले नेपाल चालीसौं स्थानमा उक्लीसकेको कुरा संयुक्त राष्ट्र संघको आँकडाले बताईसकेको छ। यसरी सरसर्ती हेर्दा हाम्रो देशको जनसंख्या ब्रिद्धी अति उच्च रहेको प्रस्ट हुन्छ। तिब्र जनसंख्या ब्रिद्धीले वातावरणीय असन्तुलन त ल्याउछ नै आर्थिक तथा सामाजिक रुपमा सम्बन्धित देशलाई तहस-नहस बनाईदिन्छ। खासगरी जुन देशको क्षेत्रफल सानो छ तर जनसंख्या भने बाईपंखी घोडा जस्तो बत्तिएको बत्तियै छ, त्यो राष्ट्र मा भोक र रोग सायद बोलाईरहनु नपर्ला।
नेपालको उत्तरी भाग हिंउनै हिंउले ढाकिएको, मध्य पहाडी भाग पनि धेरैजसो ठाडो भिरालोयुक्त जमिन भएको हुनाले खेति-बाली लगाउन निकै अफ्ट्यारो भएको तर उब्जाउ तराईको क्षेत्रफल १७ प्रतिशत मात्रै रहेको हुनाले खेतियुक्त जमिनको उपलब्धता नेपालमा एकदम कम छ। अर्कोतर्फ शिक्षा, स्वास्थ्य, यातायात तथा संचार जस्ता सुविधाको बितरण देशका सबै भागमा समान नभएको हुनाले देशको पश्चिम भन्दा मध्य तथा पूर्वमा जनसंख्याको घनत्व निकै बढि छ। पहाडी क्षेत्रको तुलनामा तराई र शहरमा जनसंख्या धेरैनै बाक्लो छ। पूर्वी तथा मध्य पहाड त्यति असहज छैन भने नेपालको सूदुर पश्चिम पहाड धेरै असहज छ। हुम्ला, जुम्लाका नागरिकहरु १ किलो चामलको लागी खाध् संस्थानका कर्मचारीसँग झुत्तो खेलिरहेका हुन्छन् भने झापा, मोरङ् वा चितवनका जग्गावालहरु भारतिय बजारमा चामलको भाउ बुझ्न दिनको तीनपल्ट पुग्छ्न्। यो सरकारी अव्यबस्थाले उब्जिएको देशको अ मिलो परिस्थिति हो भने घर छोडेर अर्को ठाउँ वा देश जाने हाम्रो परम्पराले पनि हाम्रो खाध उत्पादन घटाएको छ। हामी थाहै नपाई हाम्रो उब्जाउ जमीनलाई बर्षैपिच्छे बाँझो छोड्दै छौं। हामी परजीविजस्तै बन्दै छौं। यही नोकरीको संस्कारले नेपालीहरु सन्तानले डाँडा-काँडा ढाकुन् भन्दै कुखुराले अण्डा पारेझै फटाफट सन्तान जन्माइरहेछौं। सरकारी तथ्यांकलाई हेर्ने हो भने पनि नेपाली महिलाले औसतमा चारवटा बच्चा जन्माउछन्। धेरै बच्चा जन्माउनुमा रुढिबादी तथा अन्धबिश्वासले पनि काम गरेको छ। जसरी र जुन कारणले भएपनि देशको जनसंख्या तिब्र गतिमा बढ्दा त्यसको सिधा असर देशको प्राक्रितिक श्रोत साधनमा पर्छ र जव श्रोत साधन थाम्नै नसक्ने गरि कम हुन थाल्छ तव प्रक्रितिले बिनासको भिन्न भिन्न स्वरुप देखाउन थाल्छ अनि फेरि त्यहि मानव जातिकै रुवाबासी चल्छ डुवानमा परेर, बाढि-पहिरोमा परेर, आगलागिमा परेर वा लामो खडेरीको कारण लगाएको बाली नष्ट भएर।
नेपालमा तिब्र गतिमा बढ्दै गरेको जनसंख्याको ब्यवस्थापन गर्नलाई सरकारले प्रभावकारी तथा आकर्षक योजना ल्याईहाल्नुपर्ने जरुरी छ। निम्म माध्यमिक तथा माध्यमिक तहको पाठ्यक्रममा यौन, प्रजनन तथा जनसंख्या शिक्षा अनिवार्य पढाईनु पर्छ। "दुई सन्तान ईश्वरका बरदान" नारामा मात्र हैन कानूनमै लेखिनु पर्छ। परिवार नियोजन कार्यक्रमलाई खासगरी देशका ग्रामिण भेगमा प्रभावकारी बनाईनुपर्छ। अहिलेनै केहि गरिहाल्ने समय आइसकेको छ, नेपालको उच्च जनसंख्या ब्रिद्धी कम गरि राज्यलाई सम्रिद्ध बनाउनको लागी अनि जलवायु परिवर्तनको प्रभावबाट देशलाई जोगाउनको लागी।
हाल: दुवई, युएई।

Saturday, December 27, 2008

कफी र नेपाली स्वाद

-सुदीप अधिकारी-
सियाटल अमेरिकाकाका टोमको लागी एकाबिहानै हान्निएर यूएईको दुवई मारिनास्थित स्टारबक्स कफि सपमा ग्रान्डे अमेरिकानो पिउन पुग्नु उनको दैनिकी हो। कामको सिलसिलामा चार बर्ष अघि दुवई भित्रिएका टोम अति आकर्षक दुवई मारिनामै एउटा फ्ल्याट लिएर सपरिवार बसेका छन्। जव उनी सानै थिए अ मेरिकामा उनका बुबा आमा कफि पिउन स्टारबक्स पुग्दा उनलाई पनि साथै लैजाने गर्थे। तवदेखिनै उनको लागि कफि पिउनु मात्र हैन प्रत्येक दिन स्टारबक्स धाउनु उनको जीवनको एक निरन्तरतानै बनिसकेको छ। टोम मात्र हैन उनीजस्ता कैयौं पश्चिमाहरु आफ्नो काम थाल्नु पहिले प्रत्येक बिहान स्टारबक्समा कफि पिउन पुगेकै हुन्छन्।
टोकला र सोक्तिम चियामा हुर्किएको हाम्रो नेपाली समाज कफिको संस्कारसंग त्यति भिजिसकेको छैन। र, आफ्नो देशमै अत्यधिक उत्पादन हुने अनि प्रत्येक पसलमा सजिलै किन्न पाइने पनि भएको हुनाले चिया सबैखाले आर्थिक स्तर भएका नेपालीहरुमा लोकप्रिय बन्न सकेको छ। वास्तवमा भन्ने हो भने चिया र कफिले दिने शक्ति एउटै हो। रातभरी सुत्दा हाम्रो शरिरमात्रै सुतेको हुदैन मष्तिस्क पनि निदाएको हुन्छ। जव बिहान उठिन्छ नुहाइधुवाईनै गरेपनि मष्तिस्क पूर्ण रुपमा जागेको हुदैन। यसबेला चिया वा कफि पिउँदा मष्तिस्कलाई पूर्ण जगाउने काम गर्छ। चिया र कफिमा यसरी मष्तिस्कलाई जगाउने 'क्याफिन' भन्ने तत्व हुन्छ। अनि यो तत्वको कारणले पनि एकपल्ट कफि वा चियाको स्वाद चाखिसकेको ब्यक्तिलाई फेरि पनि पिउँ-पिउँ लाग्ने रहर जगाईदीइ रहन्छ। क्याफिनको अर्को चमत्कार यो हो कि यसले तत्कालको लागि मान्छेको स्मरण शक्तिलाई एकदमै क्रियाशिल बनाइदिन्छ। यसैले आजकालको कामकाजी दुनियामा चिया, अझ भन्ने हो भने कफि, पिउनै पर्ने चिज बन्दै गएको छ।
कफि के हो ?
बढिमा १२ मीटरसम्म अग्लो हुने, कहिल्यै पात नझर्ने कफिको बोटलाई सबैभन्दा पहिले इथियोपियाको एउटा 'काल्दी' नामको बाख्रा गोठालोले चिनेको हो। सामान्य शरिरका उसका बाख्रा पछि गएर मोटाघाटा-चिल्ला देखिन थालेपछि ती बाख्राहरुले मन पराउने त्यो खास रुखमा लत्रिएका दानालाई घरमा ल्याई सुकाइवरी आफैले टोक्दा त्यो किसानलाई अलग्गै स्वादको अनुभुति भयो। पछि समयक्रममा उसले त्यो गेडालाई भुटेर पिसपास गरि तातोपानीमा मिलाई पिउन जान्ने भयो। यो तथ्य कथा अफ्रिका हुँदै त्यतिखेरका बाठा डच ब्यापारीका कानमा पनि पुगिहाल्यो। र, उनीहरुले यसको आधुनिक खेति इण्डोनेसियामा गएर सुरु गरे। यो क्रम रोकिएन। पछि त यो यस्तो ठूलो व्यबसाय बन्यो कि आजका दक्षिणी अमेरिकाका ब्राजिल, ग्वाटेमाला, कोस्टारिकाजस्ता देशका प्रमुख आय श्रोतनै कफि बनिसकेको छ। ब्यवसायीक कफि खेति बढ्दै जान थालेपछि यसको बारेमा धेरै अनुसन्धान पनि गरिसकिएका छ्न्। अनुसन्धानले यो देखाएको छ कि यसको खेति भू-मध्य रेखा र यसका आसपासका उष्ण-मौसमी क्षेत्र अति उत्तम हुन्। उत्तरको कर्कट रेखा र दक्षिणको मकर रेखाभित्रको क्षेत्रमा यसको खेति मजाले गर्ने गरिएको छ।
गुणस्तरलाई नियाल्ने हो भने कफि उच्च र कम गुणस्तर गरि दुईखाले हुन्छन्। उच्च गुणस्तरकोलाई 'अराबिका' भनिन्छ भने 'रोबुस्टा' कम गुणस्तरको पर्यायबाची नाम हो कफिको उद्दोगमा। रोबुस्टा कम स्वाद दिने कफि पनि भएको हुनाले होला बिश्व कफि उत्पादनको ७० प्रतिशत क्षेत्र भने अराबिकाले ओगटेको छ। अराबिका कफि समुन्द्री सतहबाट ४५० मीटरमाथिको उचाईमा लगाईने कफि हो।
नामलाई हेर्ने हो भने यसमा हुने तत्व क्याफिनवाट यसको नाम कफि जुर्न गएको हो। यसबाट मिल्ने फाइदा पनि निक्कै छन्। कफि पिउने समुहमा मुटुका रोगी एकदमै कम पाईएका छन् भने यसले डाइबिटिज हुने खतरा पनि कम गर्छ। मेमोरी पावरलाई पूर्ण सक्रिय पारिराख्ने त यसको चमत्कारिक कार्य नै हो जुन माथि पनि उल्लेख गरिसकिएको छ। तर डिप्रेशनका विरामीलेले भने कफि नपिउनुनै उपयुक्त मानिन्छ। त्यस्तै गर्भवती महिलाले भने क्याफिन कम गरिएको कफि मात्रै सेवन गर्नु ठिक मानिन्छ।
कफिका बिबिध आनन्ददायी बास्ना र स्वाद
सबै कफिको एउटै वास्ना र स्वाद हुदैन। उचाई, वरिपरिको जैबिक वातावरण, माटो, हावापानी अनुसार कफिले आफ्नो स्वाद निर्धारण गर्छ। फूल फुलेर हरियो गेडा हुदै पाक्दाको रातो रङ् हुँदा यसले नौ महिनाको समय लगाउछ भने यो टिप्नको लागि पनि तयार हुन्छ। तर अचम्मको चाखलाग्दो तथ्य भने यो हो कि एउटै बगैंचाबाट निकालिएका बिरुवा केन्याका कफि फार्ममा लगाउँदा त्यसको बास्ना र स्वाद अलग्गै हुन्छ भने इण्डोनेशियामा हुर्काइएको त्यही जातको कफिको स्वाद र वास्ना एकदमै फरक हुन्छ। यहाँ प्रमुख कारण माटो र वरिपरिको जैविक वातावरण हो। इण्डोनेशियाको अधिक माटो ज्वालामुखी बिस्फोट भइ लाभाबाट लामो समयको अन्तरालमा बनेको हुनाले त्यहाँका फार्ममा लगाईएका कफिको वास्ना माटो गन्हाउने तथा हर्वल प्रकारको हुन्छ तर केन्यामा उत्पादन गरिएका कफिको स्वाद सुन्तलाको रससँग मिल्दो-जुल्दो हुन्छ। कारण, कफि फार्मका वरिपरि केन्यामा बग्रेल्ति सुन्तलाका खेति छन्। अनि ल्याटिन अमेरिकाका ब्राजिल, ग्वाटेमाला र कोस्टारिका जस्ता राष्ट्रका फर्ममा फलाईएका कफिको वास्ना र स्वाद चकलेटसँग मिल्दो हुन्छ, वरिपरिको कोकोवाको खेतिको प्रभाबले। यति मात्र हैन एउटै देशका अलग अलग फार्ममा लगाईएका कफिका भिन्न भिन्नै स्वाद हुन सक्छन्। त्यसैले त एउटै नामको यो चीजलाई भिन्न भिन्न स्वादमा यसरि पिउन पाउँदा मानिस कफिको यति ठूलो पारखी बन्न पुगेको हो। अरुको मात्रै के कुरा हामी नेपालीहरुलाई समेत आजकाल नेस्क्याफेले चित्त नबुझेर ठमेलको जाभा क्याफे जस्ता राम्रो कफि पाइने होटल रेष्टूराँ धाउने बानी लागिसकेको छ।
कफी र नेपाल
कफीको यति ठूलो विश्व उत्पादन र ब्यापार भएकोमा नेपालले भने यस बिषयमा अझै धेरै गर्नु छ। हाम्रो क्रिषि प्रणाली अन्तर्गत लगाईने धान, मकै तथा गहुँ जस्ता प्रमुख बालीहरु त परम्परामै जडकिरहेको अवस्था छ भने कफी जस्तो नयाँ उध्धमको बिकाश र बिस्तार हुन समय लाग्नु स्वभाबिक नै पनि हो। नेपालमा यस्ता हजारौं गाउँ-ठाउँ छन् जहाँ अझै पनि कुनै फसल धेरै फलाउदा आफैलाई फसाद पर्ने गर्छ। क्रिषक जाँगर चलाउँछन, बाली धेरै र राम्रो उब्जन्छ तर बिक्री गर्न पहुँचनै हुदैन फलत सके त्यो आफ्नै परिवारले उपभोग गर्ने नसके गाउँलेलाई बाँडिदिने बाध्यता छ। यस्तो अनुत्पादनशील परिस्थितिमा सुधार नआएसम्म अन्न-तरकारी बाली मात्र हैन यो कफी खेति पनि उभो लाग्न सक्दैन।
हामीसँग एक से एक क्रिषिसँग सम्बन्धित अनुसन्धान संस्थाहरु क्रियाशील छन्। क्रिषि अनुसन्धान परिषद्, राष्ट्रिय बाली बिज्ञान प्रयोगशाला, प्रत्येक जिल्लामा क्रिषि कार्यालय जस्ता संस्थाहरुले अव कफीको क्षेत्रमा पनि हात हाल्ने बेला आईसकेको छ। आधुनिक प्रबिधि र सीपलाई हाम्रा क्रिषि सम्बन्धि यी संस्थाहरुले अव नयाँ नयाँ फसल र नगदे बालीतर्फ तिखो नजर लगाउनु आजको गहन आवश्यकता हो। गुल्मीबाट पूर्व-पश्चिम हुदै जम्मा हाल ४० जिल्लामा कफी लगाइन थालीइसकेको नेपालको लागि एकदमै नयाँ यो बालीलाई देशको प्रमुख आम्दानीका श्रोत मध्ये एक बनाउन हामी सबैको अध्ययन, जोश, जाँगर र अटुट मिहेनतको जरुरत छ। आर्थिक बर्ष २०६४/६५ मा ५ करोड २३ लाख बराबरको कफी निर्यात गर्ने हाम्रो देश कफीको क्षेत्रमा अव भने सुस्तरी-सुस्तरी अगाडि बढ्दै गरेको आभास हुन्छ।
कफिको ब्यापार र स्टारबक्स
तेल पछि कफिको ब्यापारले विश्वमै दोश्रो स्थान ओगटेको छ। एक अध्ययन अनुसार सन् १९९८-२००० को अवधिमा कफिको उत्पादन बार्षिक ६.७ मिलियन मेट्रिक टन रहेको थियो भने २०१० को अवधिसम्ममा यो बढेर बार्षिक ८ मिलियन मेट्रिक टन पुग्ने अनुमान लगाईएको छ। लेखको माथिनै भने अनुसार कोस्टारिका तथा ग्वाटेमालाजस्ता देशका प्रमुख आम्दानिनै कफि हो। फुटबलका राम्रा राम्रा खेलाडी उत्पादन गर्ने देश ब्राजिल त कफि उत्पादनमा बिश्वमै अग्रणी स्थानमा छ। र, अव यो यहाँ उल्लेख गर्नु राम्रै होला, हाम्रा परिश्रमी नेपाली किसानहरुमा पनि कफिको बारेमा चाख बढ्दै गएर आफ्ना तोरीबारीलाई कफिबारीमा धमाधम बदल्न थालेका छन्। भौगोलिक अनुकुलताले त साथ दिएको छनै सरकारी, गैरसरकारी तथा निजी निकायको तर्फबाट कफिसम्बन्धी बिबिध जानकारी तथा बैकिंङ् सहयोगको पनि ठूलो जरुरत छ हाम्रा कफि क्रिसकलाई। अर्को रह्यो अत्याधुनिक कफि प्रशोधनशालाको जरुरत। किनकी यसलाई पाकेपछि राम्ररी प्रशोधन गर्नुपर्ने हुन्छ। तर जे होस् गुल्मीबाट पूर्वतिर फैलिएको कफिको खेतिमा नेपाल सरकारले अव गहिरिएर सोच्नै पर्ने अवस्था आईसकेको छ।
फेरी नेपालवाट बिश्व बजारतिरै नजर फर्काउँ। कफिको यत्रो बिशाल बजार हुने कारण प्रत्येक ठूला होटल, रेष्टूराँमा कुनै न कुनै रुपमा ग्राहकलाई कफि उपलब्ध गराइनु हो। क्याफे त नामैले कफि पाइने ठाउँको नाउ भैहाल्यो।
स्टारबक्स त्यो कफि कम्पनि हो जसले बिश्व कफि बजारमा कफिको होलसेलदेखि लिएर खुद्रा बिक्रीसम्मको ६० प्रतिशतभन्दा बढी आधिपत्य जमाएको छ। आजको दुनियाँमा कफिलाई यति लोकप्रिय पेय बनाउनुमा स्टारबक्स कफि कम्पनिको योगदान अग्रणी स्थानमा छ। वास्तबमा भन्ने हो भने कफि र स्टारबक्सबिच नङ्-मासुको झैं सम्बन्ध छ। कफिलाई लोभलाग्दो जवानी दिएको स्टारबक्सलेनै हो। अहिले यसको पहुँच कफि किसानका कफि फार्मका गरागरादेखि लिएर पारखिहरुका आरामकोठाहरुसम्म पनि उत्तिकै नजिकिंदो रुपमा छ। ठ्याक्कै भन्ने हो बिश्व कफि ब्यवसायमा अहिलेपनि स्टारबक्सको हालिमुहालीनै छ। यो कम्पनि यसरी सबैभन्दा ठूलो कफि कम्पनि बन्न सक्नुमा यसको बिगत र बर्तमानको संघर्षशिल बाटोलाई बुझ्ने गरिन्छ।
सन् १९७१ मा दुईजना शिक्षक र एउटा लेखक मिलेर यो कम्पनिलाई जन्म दिएका हुन्। अमेरिकामा पर्ने सियाटलको पाईक प्लेस मार्केट भन्ने ठाउँमा यी तीन साथी(जेरी वाल्डवीन, जेव सिगेल र गोर्डोन बोकेर) मिलेर पहिलो स्टारबक्स कफि सप खोलेका थिए। यिनीहरुले सुरुमा सादाकफि (ब्ल्याककफि) को बिक्रीबाट ब्यापार शुरु गरे भने पछि कफिको परिकारमा आमुल सुधार गरेर दुध मिलाइएका तातो चिसो सबैखाले कफिको बिक्री गर्न थाले। सन् १९८३ मा होवर्ड शुल्ज नाम गरेका ब्यवसायी कम्पनिमा भित्रिए। यिनले कम्पनिलाई बिस्तार गर्ने प्रभावकारि भूमिका खेल्न थाले। केहि समयपछिको उनको इटालिको यात्रामा उनले 'एस्प्रेसो' को बारेमा जान्ने मौका पाए। यो भनेको- पिसेको कफिको धुलोलाई अर्कातिरबाट तातोपानीको प्रेशरले हानेर ब्ल्याक कफि बनाइने प्रबिधि हो। जव उनले यो प्रबिधि इटालीमा देखे अनि त आफ्नो कम्पनिमा 'एस्प्रेसो बार' खडा गरेर कफिको बिक्रीमा क्रान्तिनै ल्याए। यस्तो एस्प्रेसो बारमा तात्ताको कफि क्षणभरमै तयार पार्न सकिन्छ। १९८७ म गएर ती तीनजना स्टारबक्स संस्थापकले होवर्ड शुल्जलाई कम्पनिनै बेचिदिए। अव भने होवर्ड ढुक्कै रुपमा महात्वाकांक्षी बजार बिस्तारमा लागे। चाहिंदो कफि सिधै कफि उत्पादकबाट किन्न थाले भने क्यानाडाको बजारमा पनि तुरुन्तै प्रबेश गरिहाले। यसरी क्यानाडा पनि मिलाएर १९९२ सम्ममा यिनी जम्मा १६५ वटा स्टोर खोल्न सफल भए। सन् १९९६ मा स्टारबक्स जापान प्रवेश गर्यो भने १९९८ म बेलायत। थरिथरिका ताता चिसा कफि पाइन थालेपछि त स्टारबक्सका नयाँ नयाँ सपहरु फटाफट खुल्न थाले। अहिले ४४ वटा देशमा यसमा १६,००० जति कफिसप संचालित छन्। यो क्रम दिनदिनै बढ्दो छ। सात-आठ बर्ष अघि यू.ए.ई.छिरेको यो कम्पनिको स्टोरसंख्या अहिले ७७ पुगिसकेको छ र अरुपनि धमाधम खुल्ने क्रममा छन्। यू.ए.ई.का स्थानियबासीको लागि त स्टारबक्स एउटा क्रेजनै हो। स्टारबक्समा गएर आईसलाई ब्लेण्ड गरेर तयार पारिएको कफि (जसलाई फ्रापुचिनो भनिन्छ) नखाए यहाँका लोकललाई निद्रै नआउने भइसकेको छ। पश्चिमाहरुको त कफि संस्कारनै हो। एशियनहरु पनि कफिका परिकारमा निक्कै पल्किएका छन्।
कफि क्रिसक र स्टारबक्स
गुणस्तरलाई ध्यानमा राखेर स्टारबक्सले उच्चस्तरको अराबिका कफि मात्रै प्रयोग गर्छ। त्यसैले स्टारबक्सले कफिका हरिया दाना सिधै क्रिसकसँगै खरिद गर्छ। आफ्नै रोष्टिङ् प्लाण्ट भएको हुनाले आफैले रोष्ट गरि प्याकेजिङ् गर्छ। गुणस्तरियतालाई ह्रास हुन नदिन यसले कफि किसानहरुको सजिलोको लागि धेरै परियोजनाहरु संचालन गरेको छ। जसमध्ये Coffee And Farmer Equity Practice (CAFÉ) धेरै सफल भएको परियोजना हो। यस परियोजना अन्तरगत कफि क्रिसकलाई उसले उत्पादन गरेको कफिको उच्च मुल्य दिई फेरी फेरी पनि उसलाई गुणस्तरिय कफि फलाउन प्रोत्साहन दिईरहनु हो। त्यस्तै थोरै जग्गा हुने किसानलाई आर्थिक सहयोग दिएर कफि उब्जाईरहन उत्प्रेरित गर्नु हो यस परियोजनाको अर्को कार्य। किन्न लागेको कफिको नमुनालाई स्टारबक्सले आफ्नो ल्यावमा धेरैपटकको परिक्षणबाट पास भएपछि मात्रै ठूलो परिमाणमा लिने गर्छ। वास्ना र स्वादको लागि यी परिक्षण हुन्छन्। यहि आफ्नोपनको लागि यसरी स्टारबक्स किसानका कफि फार्ममै पुग्ने गरेको हो।
भूखमरी र गरिवीले गाँजेको अफ्रिकी मुलुक रुवाण्डावाट पनि स्टारबक्सले नियमित कफि खरिद गरिरहेको छ त्यो पनि स्टारबक्सको आफ्नै बिशेष सक्रियतामा। रुवाण्डामा स्टारबक्सले क्रिसकलाई कफि फलाउन आई एन जी ओ मार्फत सहयोग गर्ने गरेको छ भने आफ्नो सोझो सक्रियतामा स्कूल, स्वास्थ्य चौकीको स्थापना तथा स्वस्थ खानेपानीको बन्दोवस्त जस्ता सामाजिक कामहरु गर्ने गरेको छ। कफिको बिबिधताको लागि स्टारबक्स कुनै पनि मुल्य चुकाउन सँधै तत्पर देखिन्छ।
अर्कोतर्फ स्टारबक्स क्रिसकहरुलाई सकभर अर्गानिक कफि उत्पादन गर्न प्रोत्साहन गरिरहने कम्पनि हो। अर्गानिक कफि उत्पादन गर्ने काम वास्तवमा निकै कठिन कार्य हो। कुनैपनि रसायनिक मल नहालिकन, कुनै पनि किटनाशक औषधी प्रयोग नगरिकन सरल तरिकाले उत्पादन गरिएको कफिमात्रै अर्गानिक कफि हुन सक्छ। त्यो पनि अलग्गै स्वतन्त्र संस्थाले यो कफि अर्गानिक हो भनेर प्रमाणित गरेपछि मात्रै त्यो प्रमाणित अर्गानिक कफि हुन सक्छ। प्रमाणितनै नभएपनि स्टारबक्सले क्रिसकहरुलाई अर्गानिक बिधि प्रयोग गर्न बारम्बार प्रोत्साहित गर्ने गरेको छ जुन उपभोक्ताको चाहनासँग जोडिएको पनि छ। अर्गानिकको कुरा आउँदा हाम्रो देशमा उत्पादन हुने कफिलाई हामीले अर्गानिक कफि भनेर भन्ने गरेका छौं तर के हामीले अर्गानिक कफि उत्पादन बिधिका मापदण्ड अपनाइरहेका छौं त ! यो हामी सबै नेपाली कफि उत्पादक क्रिसकले एकदमै ध्यान पुर्याउनु पर्ने बिषय हो भनेर यहाँ जोड दिन चाहन्छु।
र, अन्त्यमा
आर्थिक बर्ष २०६४/६५ को अवधिमा १ लाख २७ हजार किलो निकासी गर्ने हाम्रो देशका कफि किसानले उत्पादनको फल राम्रो पाउदै गए भने अवश्य पनि नेपालमा कफिको उत्पादन यसरी बढेर जाने छ कि भविश्यमा निर्यात ब्यापारमा कफिले निकै ठूलो हिस्सा लिने छ। अनि स्टारबक्समा कफिका पारखीहरुले नेपाली कफिको अलग्गै वास्ना र स्वाद थाहा पाउन थाल्ने छन्।
समाप्त

Wednesday, October 8, 2008

Sad news in festive season in Nepal

A small airplane crashed and caught fire Wednesday as it tried to land in foggy weather at a tiny mountain airport near Mount Everest, killing 18 people, including 16 tourists from Germany, Australia and Nepal, officials said.
Witnesses raced onto the tarmac in search of survivors but there was only one — the pilot. The 19-seat Yeti Airlines plane, which had taken off from the capital, Katmandu, snagged its wheels on a security fence during its landing at Lukla airport, about 40 miles (60 kilometers) from Mount Everest, said Mohan Adhikari, general manager of the Katmandu airport.
The DeHavilland DHC-6 Twin Otter caught fire and came to a stop on the airport grounds, Adhikari said.
A fog had descended on the airport just before the crash, said Suraj Kunwar, who was at Lukla waiting for a flight.
"Suddenly there was a big bang, and flames came out of the plane," he said. "All the passengers waiting for planes ran to help douse the flames, but the passengers were already dead."
The tiny Lukla airport, little more than a runway carved into the side of the Himalayas at an altitude of 2,800 meters (9,200 feet), is famous among travelers for its dramatic scenery, stomach-lurching landings — and occasional crashes. The runway ends in a steep drop of a few hundred meters (feet). The Twin Otter is known for its ability to take off and land on short runways.
The visibility at the airport was about 1,310 feet (400 meters), just enough for the aircraft's landing, he said.
Adhikari said 19 people were on board the plane, including 12 German, two Australian and two Nepalese tourists. There were also three Nepalese crew members — a pilot, co-pilot and flight attendant. The pilot was flown to Katmandu and hospitalized in critical condition though Vijay Shreshta, executive director of Yeti Airlines, said his injuries were not believed to be life-threatening.
The 12 Germans were on a tour run by Munich-based Hauser Exkursionen.
"We are completely shocked," said Michael Schott, who owns the company, adding that one of the Nepalese victims was the group's tour guide.
He declined to release the names of the victims, pending identification of the bodies and notification of their families.
The bodies were flown back to Katmandu by military helicopter and were unloaded by soldiers wearing jungle camouflage.
The airport is an important jumping-off point for trekkers and mountaineers heading to Everest.
The walk takes several days from there to Mount Everest Base Camp.
In 2005, nine passengers and three crew members survived a crash at the airport in a small Gorkha Airlines plane with minor injuries.
source:AP

Wednesday, August 27, 2008

वाई०सी०एल० को पत्रकारप्रतिको ब्यवहार कहिले सुध्रिने ?

-सुदीप अधिकारी-
संगठन अवश्यनै हक हित र राम्रो कामका लागि खोलिन्छ। तर संगठनले उद्देश्य विपरित गलत काम गर्दै जान थाल्यो भने त्यो समाजको लागि घातक सिध्द बाहेक केहि हुदैन। यस्तै कुराको उदाहरण पेश गरेको छ हालै कतारमा कान्तिपुरकर्मीमाथि गरिएको हमलाको घटनाले। यो घटना एउटा पत्रकारमाथि मात्र आईलागेको घटना होइन यो घटनाको अर्को असर कतार र अन्य खाडी राज्यमा काम गर्ने नेपालीहरुमा पनि पर्ने देखिन्छ।
सबैले जाने बुझेको कुरो हो कि खाडीका सबै राष्ट्रमा खुल्ला राजनीतिक गतिबिधि गर्न पाईदैन। जो आफ्नो राजनीतिक शक्ति स्थापना र बिस्तार गर्न चाहन्छन् ति पार्टीहरु अन्य नाम प्रयोग गरेर संचालित भएका हुन्छन्। कतारको जन प्रगतिशिल मन्च पनि यहि छद्म नाम प्रयोग गरी ने०क०पा० माओबादीको संगठन र बिस्तारमा लागेको छ। यस्ता नेपाली संगठन कतारमा मात्र हैन खाडीका सबै देशमा च्याउसरि छन्। माओबादी पार्टीको मात्र होइन नेपालका प्रमुख राजनीतिक पार्टीका आ-आफ्ना नाममा सबैका भात्री संगठन खोलिएका हुन्छन्। जव जव देशमा काम नपाएर मेनपावर एजेन्टलाई पैसा बुझाउदै आर्थिक उन्नतीको बाटो देखेर नेपाली युवाहरु अन्य देश लगायत खाडी राष्ट्र पसे अवश्यनै उनिहरुले नेपालमा पछयाएका राजनीतिक पार्टीका बिचार बोकेरनै भित्रिए। अनि देशको छिट्-छिटो बदलिएको राजनीतिक परिद्रिश्य सँगै लाखौको जमातमा बिचार मौलाउने र फैलाउने अवसर स्वभाबिक बन्दै गयो प्रवासमा पनि।
तर मुख्य समस्या यहाँ छ कि ति प्रवाशका संगठनहरुले आफूहरुको संगठन नेपाल भूमिभित्र संचालीत नभएर खाडीको राजनीतिक गतिबिधि गर्न प्रतिबन्धित ठाउँमा संचालीत छ भन्ने कुरो बिर्सन थालेका छन्। आ-आफ्ना समुदाय र देशका पर्व मनाउन भेला हुन र साँस्क्रीतिक कार्यक्रम गर्न सम्म छुट पाउने संघ संस्थाहरुले देशको प्रमुख राजनीतिक पार्टीका नेताहरुलाई बोलाएर कार्यक्रममा हुल-हुज्जत गर्न थालेपछि के अव त्यहाँको स्थानिय सुरक्षा निकाय कानमा तेल हालेर बसिरहला त ! शेख (राजा)हरुद्वारा शासित यी राज्यहरुमा नीति-नियमहरु दिनदिनै फेरीइरहने प्रिश्टभूमिलाई हेर्ने हो भने कुनै दिन कतारमा नेपालीहरुलाई २-३ बर्षको लागी कामदार भिसा बन्द गरियो रे भन्ने समाचार सुन्नुपर्ने दिन आउने छैन भनेर भन्न सकिदैन। त्यो निर्णय हाललाई नआईहालेपनि नेपालवाट कामदार मगाउने नीतिमा कडाईका तह बढ्न सक्छ्न्। हालसालै बहराईनमा एउटा बंगलादेशी कामदारले स्थनीय नागरिकको हत्या गर्दा बहराईनी सरकारले महिनौसम्म बंगलादेशबाट कामदार मगाउन प्रतिबन्ध लगाएको घटना ताजै छ। हुलहुज्जत र झोंकि स्वभाबका भनेर मलेशिया, साउदी अरेविया तथा कुवेत सरकारले बंगलादेशी कामदार नचाहिने भन्न थालेको छ। त्यसैले हामी नेपालीहरुले पनि यो कुरा बुझ्नु पर्छ कि हाम्रा गतिबिधिहरु कुन बाटातर्फ मोडिदैछन्। श्यामसुन्दर शशिले आफ्नो बिबरण कान्तिपुरमा लेख्दा "लुमा"नामको मादक पदार्थ खाई वाइ०सी० एल० कार्यकर्ता आई लाग्न आएको कुरा पनि यहाँ उल्लेख गर्नु सान्दर्भिक ठान्दछु। यदि त्यस्तो हो भने माओबादीको सामाजिक सुद्दिकरणको अभियान कहाँ पुग्यो ! उच्छ्रिङ्खल ब्यक्तिहरुलाई किन कार्यक्रममा समावेश गराइयो ? भरखरै काँडै काँडाहरुबिच पाइला अगि बढाउन थालेको आफ्नो पार्टी सरकारमा रहेको बेला बिना आमन्त्रण समाचार संकलन गर्न आएको भन्ने जस्तो यस्तो दरिद्र बिचार प्रदर्शित गर्दा सम्पूर्ण प्रवासी नेपालीहरुमाझ के सन्देश जान्छ भन्ने कुरो माओवादी पार्टीले सोचेको छ!देख्दा झिना मसिना लाग्ने भएपनि यस्ता कुरामा सबैले गहिरिएर सोचिनु पर्छ। हिजोसम्म देश युद्धमा छँदा बिदेशका गएका नेपालीहरुले पठाएको रेमिटेन्सले देशको अर्थतन्त्र धानिएको भनेर बार बार रटान लगाइन्थ्यो। प्रवासी नेपालीहरुको सम्मेलनमा नेता प्रचण्ड लगायत सबैले बिदेशिएका नेपालीहरुको लागी केहि न केहि गर्ने नभनेका होइनन्। तर हालैको प्रधानमन्त्रीले गरेको राष्ट्रवासीको सम्बोधनमा प्रवासी नेपालीहरुको बारेमा बोल्न छुटाइएको छ। खाडी लगायत बिदेशिएका नेपालीहरुको आम्दानीलाई देशको निर्माणमा उपयोग गर्ने रणनीति सरकारको हुनुपर्छ भने देशमै रोजगारी सिर्जना गरी अधिकांश तल्लो दर्जाको काममा बिदेश पस्नु पर्ने नेपालीहरुको बध्यताबाट उनीहरुलाई मुक्त बनाइनुपर्छ। कतारमा घटेको यो घटना पनि बेरोजगारीबाट सिर्जित घटना हो भनेर हामीले लिनुपर्छ। र,यदी होसियारीपुर्वक लागिएन भने नयाँ नेपाल कहिल्यै बन्ने छैन।
-हाल: दुवई, यू० ए० ई०



Google