-सुदीप अधिकारी-
मुग्लिन पुलबाट पूर्वतर्फको यात्रा पटक-पटक हुनेगरेको भा पनि त्यहाँबाट पश्चिम नलागेको भने दशक भन्दा बढिनै नाघिसकेको रहेछ। धेरै बर्ष पहिले लमजुङ्को बसाईको क्रममा जिल्लाको कुनाकाप्चा चाहारेर पश्चिमान्चलको, अझ खासमा गुरुङ् समुदायको जीवनशैलीलाई छेवैबाट नियाल्ने मौका मिलेको भएपनि त्यहीं नजिकको ताल, तलैयाको शहर भनेर चिनिने देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरा र यसको सेरोफेरो घुम्ने र जान्ने रहर खै के भएर हो कुन्नी थाँतिनै रहिरहेको थियो। यसपाली भने बार्षिक बिदामा नेपाल पुग्ने काम मात्रै नगरेर देशकै प्रसिद्ध पर्यटकीय ठाउँ पोखरा घुम्ने योजना पनि मनमनै बुनिसकेको थिए। ठूलै काम परे मात्रै हामी नेपालीहरु देशको अन्य भागमा पुग्ने हाम्रो संस्कारले गर्दा होला पूर्बको नेपालीले आफ्नो उमेरको पचास पार गरिसकेपनि काठमाडौं आउजाउको मुग्लिङ् बजार नजिकै पर्ने बुटवल पनि नदेखेको र पश्चिम गुल्मी, म्याग्दी वा अरुतिरको पढेलेखेको जवानले पूर्वको धरान वा इटहरी अरुको मुखबाटै मात्रै सुनेको कुरा सामान्य हुने कुरा हाम्रो नेपाली परिबेशीय यथार्थता हो। अझ काठमाडौंका कतिपय स्थानीय समुदायमा बुढा-बुढी उमेरकाको त कुरै छोडौं, यूवा-युवतीहरु पनि लाखौंकोसंख्यामा थानकोट वा धुलिखेल ननाघेकाहरु भेटिनु सामान्य कुरा भित्रै पर्दोरहेछ। यहाँ के भन्न खोजिएको हो भने काठमाडौं खाल्डोमा जन्मेको मान्छेले उपत्यका बाहिरको केहि पनि नदेख्दा, पहाडको कुरा सुन्दा अकबर र बीरबलको कथाझै सम्झने र सूदूर पहाडका त्यहि नेपालीले काठमाडौंका सम्भ्रान्त मान्छेहरुका मोजमस्ति देख्दा त्यसै त्यसै रिस थोपार्ने मनोबैग्यानिक अवस्था स्रिजित हुने अवस्था आउने रहेछ। र, यो अवस्था आउन नदिन र पूर्व र पश्चिमको नेपालीले एक अर्कालाई पूर्बेली र पश्चीमेली भनेर फरक सोच्ने अवस्थाबाट बच्न मौका निकालेर देश घुम्ने काम गर्नु अति आवश्यक छ।यो कुराको अनुभव यसपालीको हिँउदमा पोखराको पाँचदिने भ्रमण गर्दा मलाई महसुस भएको कुरा हो।
यति भनिसकेपछि अव पोखरालाई मजस्तो एकपटक नियाल्ने यात्रुलाई के त्यस्तो चिजमा पोखरा अद्भुत वा सुन्दर लाग्यो त्यो सुनाउन वा अनुभव साट्न कर्तब्य ठान्दछु। र, पोखराजस्तो नेपालकै प्रमुख पर्यटन गन्तब्यमा कहिल्यै पाईला नटेकेका हामी नेपालीहरुले किन जाने त भन्ने कौतुहलता मेट्न केहि शब्दहरुद्वारा बयान गर्न यहाँ आवश्यक ठान्दछु। एकपटक घुमिसकेकाहरुले भनेजस्तो वा पुस्तक वा पत्रपत्रिकाहरुमा लेखिएजस्तो मात्र नभै पोखरा वास्तबमै मिलेको शहर सहितको अद्भुत र सुन्दर उपत्यका हो। माछापुछ्रेहिमालको काखमा लुटुपुटिएको यो उपत्यकाको प्रमुख आकर्षण चाहिं फेवाताल नै हो जसमाथी साँझपख सूर्य अस्ताउदाको समयमा डुंगामा एकपटक यात्रामा निस्कने जो-कोहि यात्रुले त्यो क्षण पक्कै पनि जीवनभरी नभुल्ने अबिष्मरणिय नै बन्छ। परिवार सहित राजधानीको कोलाहलबाट फुत्त फुत्किएर फेवातालको त्यो टहकमय साँझमा मेरो पोखरेली साथी भक्त गुरुङ्को साथमा म वास्तवमा आफूलाई निकै रोमान्चक र आनन्दित महसुस गरिरहेको थिए जव म फेवातालमा डुंगामा सयर गर्दै थिए।। पाँच बर्षे मेरो छोरो पनि अन्य कतिपय ठाउँ घुमाईसक्दा पनि डुंगा र पानीकै पर्खाईमा थियो सायद उ डुगामा चढेर डुंगा अगाडी बढेपछि खु:सिले आल्हादीत भएको प्रष्टै देखिन्थ्यो।। तालको चमलाउदो पानीमा गोधुली साँझको परावर्तनलाई उ पानीमा कति धेरै बत्ती बलेको भनेर कौतुहलमय प्रश्न मतिर हुत्याउदै थियो। जीवनसंगिनी सुबिता हल्लिएको डुंगामा डर र रोमन्चकता दुवै मीसाउदै थिईन्। त्यो प्रष्टै देखिराखेको थिए। मलाई त्यतिखेर अनायासै महाकबि लक्ष्मीप्रसाद देवकोटाको याद आयो। नेपाली बिलियम वर्ड्स्बर्थ भनेर हामीलेउच्चारण गर्ने गरेका यी प्रक्रितिबादी कविले किन फेवातालको कबिता लेखेनछन् भनेर एकपल घोत्लिने मौका छोपेको थिएँ सबैको बिचमा हुदाहुदैपनि। 'बादल' शीर्षकमा कबिता लेख्ने यी कबिले फेवाताल र माछापुच्छ्रेको कबिता नलेख्नु आश्चर्यमय कुरा लागिरहेको थियो मलाई। पछि सायद महाकबि पोखरानै गएनछन् होला नि भनेर आफैलाई सम्झाएँ। त्यस्ता प्रक्रितिबादी कविले पोखरामै स्थायी बास गर्नुपर्ने हो
पोखरा घुम्न जानेले उपत्यकाको उत्तरपट्टिको उच्च डाँडो सराङ्कोट नचढी फर्कियो भने त्यो मोहि मथेर घ्यू नखाई बसेको जत्तिकै हो। त्यो डाँडामा चढ्नुको दुईवटा महत्व छ। सूर्यको बिहानीको किरण माछापुच्छ्रेमा परेको सुनौलो द्रिश्य त्यो डाँडामा चढेर हेर्दा सम्पूर्ण हिमाल आफ्नै अगाडी उभिएझै लाग्छ भने पोखरामा प्याराग्लाईडीङ् गर्ने शुरुवाती बिन्दु पनि यही सराङ्कोटको डाँडोनै हो। केहि पैसा तिरेर प्याराग्लाईडिङ्मा अन्दाजी आधा घण्टाको उडानपछि तल फेवातालको किनारमा अवतरण गर्ने हजारौ आन्तरिक र बाह्य पर्यटकको त्यहाँ घुइचोनै लाग्छ। "सराङ्कोटैमा, मोहनी रहेछ तिम्रो ओठैमा" जस्ता थुप्रै नेपाली गीतहरुले सराङ्कोटको बखान त्यसै गरेका हैनन्। सराङ्कोट जाँदा वा फर्किदा बाटोमा पर्ने पोखराको प्रसिद्ध बिन्दबासिनी मन्दिरको दर्शन पनि गर्न सकिन्छ साथै बाटामै पर्ने एउटा अति भब्य र सुन्दर गुम्बाको पनि भ्रमण गर्न कदापी छुटाउनु हुँदैन भन्छु म त !
अव अर्को त्यस्तै उच्च डाँडोको कुरा गरौं। त्यो हो उपत्यकाको दक्षिणपट्टि पर्ने विश्व शान्ति स्तुप भको डाँडो। जिल्लाको पुम्दी भुम्दी गाबिसको एक उच्च डाँडो जसको नाम अनदु मीन थुम्कि हो, मा अवस्थित यो स्तुपको निर्माण कार्य बिसं २०३० बाटनै थालनी भएको थियो । पछि बिभिन्न बाधा र ब्यबधान झेल्दै बल्ल २०५६ सालमा यसको निर्माण कार्य सम्पन्न भएको थियो। जापानका बौद्ध भिक्षुको अथक प्रयासमा निर्मित यस स्वेत रंगको स्तुप सुन्दर र भब्य त छँदैछ, पोखरा शहर, फेवाताल र माछापुच्छ्रे हिमाल सहितको अन्नपूर्ण हिमाली श्रींखलालाई एकैपटक हेर्न सकिने अति उत्तम ठाउँ पनि हो। त्यहाँ पुग्नलाई हिडेर जानुनै रोमान्चक र चाखलाग्दो हुन्छ। सडकको बाटो घुमाउरो र कच्ची पनि छ।
पोखरा घुमाईलाई रोमान्चकारी बनाउने त अझ यहाँका तीन प्रमुख गुफाहरु हुन्। त्यति ठूलो सेती नदी साँगुरो गरि कताहो कता तल भासिएको देख्दा झन अचम्म लाग्छ। गुफामा महेन्द्र गुफा, गुप्तेश्वर गुफा र चमेरे गुफा प्रमुख रुपमा छिर्नै पर्ने गुफा हुन्। महेन्द्र गुफा सजिको र फराकिलो छ भने चमेरे गुफा अलि साँगुरो र अँध्यारो पनि। हजारौ चमेराले बास गरेको चमेरे गुफामा पस्दा कताकता सिनेमा हलमा हरर सो हेरेको याद दिलाउछ भने गुप्तेश्वर गुफामा लगातार भित्र पस्दै जाँदा सेती नदी फेला पर्छिन्। यसरी गुफाहरुको भ्रमणले मलाई चाहीँ के अनुभुति दिलायो भने पोखरा कतै बिलक्षण शक्तिको भरमा त अडिएको छैन ! हाम्रा हजुरबुवा, जिजुहजुरबाले सुनाउने गरेको दैवीय शक्तिको खेल झै !
पोखराको प्राक्रितीक सुन्दरता र यसको बिबिधताको यति धेरै बखान गरिसकेर पनि पोखराको शहरि सफाई ब्यबस्थापन र घरहरुको निर्माणमा देखिने एकरुपताको बारेमा केहि पनि नलेखिए पोखराप्रति अन्याननै हुनेछ। हो, यति कुरा ठोकेरनै भन्न सक्ने अवस्थामा म पुगेको छुकि, पोखराजस्तो ठूलो शहर भैकनपनि यहाँजस्ता राम्रा एकानासे घर र फराकिला सडक अन्य कुनै नेपालका शहरसँग छैनन्। हुनत म नेपालका अन्य कतिपय धेरै शहरमा पुगेको छैन। हो बरु धरान शहर धेरै कुरामा पोखरासँग मिल्दोजुल्जो छ। विराटनगर पूर्वकै ठूलो औधोगिक शहर हो तर सडकका प्रत्येक कुनामा साँढेहरु बग्रेल्ति बाटा छेकिरहेका हुन्छन्। आँडेपाँडे सडक र बग्रेल्ति फोहरको कुरै छोडौं। काठमाडौं शहरलाई पोखरासँग तुलना गर्ने हो भने हर प्रत्येक बिषयमा पोखराले २० पाउँदा काठमाडौंले १ पनि नपाउने अवस्था काठमाडौंको छ। पोखरामा सरसफाई र शहरी ब्यबस्थापन, टोल र समुदायको प्रत्यक्ष सहभागितामा चलेको छ तर त्यो काठमाडौंमा नगन्य मात्रामा मात्रै भेटिन्छ। त्यसैले काठमाडौंले अव पोखरा वा धरानबाट धेरैकुरा सिक्नुपर्छ।
यो एउटा सानो लेखबाट प्राक्रितिक र आधुनिकताको संगम एउटा उदाउदो शहरको पूरापूर बर्णन गर्न भ्याईने कुरा पनि हैन तर अन्तिममा यति चाहिँ लेख्नै पर्ने मेरो कर्तब्य मान्दछुकि काठमाडौंमा बस्नुहुने मेरा आदरणीय साथी नेपाल दुबई डट् कम् का संचालक तथा संपादक दामोदर नेपालजीको सल्लाह र पोखराका आत्मीय साथी भक्त गुरुङ् र वहाँको परिवारको आतिथ्यमा मेरो यो पहिलो पोखरा घुमघाम एकदमै रोमान्चक र सफल रह्यो। मेरो सबैमा यो आह्वान पनि छ कि अव सके बिदेश त्यो नभएपनि देशभित्रका बिभिन्न दर्शनीय महत्व बोकेका ठाउँहरुमा घुम्ने बानीको बिकास गरौं। । यसले आन्तरिक पर्यटन मात्रै बढ्दैन तपाईंको मन र शरिर पनि झन् नयाँ र बलियो बन्छ ।
भोजपुर, हाल:दुवई,यूएई।