Wednesday, February 24, 2010

खाडी, जहाँ नेपाली चेलीहरु रोईरहेछन्

-सुदीप अधिकारी-
           खाडीमा घरेलु कामदारको रुपमा आएका नेपाली चेलीका पीडा र बेदनाहरु छापाहरुमा हिजोआज लगातार आउने क्रम जारी छ। अहिले यसरी ह्वात्तै तिनीहरुको देश फिर्तीका खबरहरु बढेका भएपनि दु:ख पाउने  क्रम पहिलेदेखिनै जारी थियो। बरु हामीले हिजोआज किन यसरी दु:ख, पीडाका खबरहरु ह्वात्तै बढे, त्यसको लेखाजोखा नगरि नहुने बेला आएको तर्फ भने सबै सचेत हुनै पर्छ।
श्रम शोषण र हिंसा सहन नसकेपछि नेपाली दुतावास
साउदी अरवको शरणमा पुगेका यी छ नेपाली चेलीहरु गत
जनवरीमा दुतावासकै सहयोगमा नेपाल फर्कीसकेका छन्।

                  थोरैमात्रै गहिरिएर हेर्ने हो भने मूल रुपमा हाम्रो देशको कहालिलाग्दो बेरोजगारीनै यसरी घटिरहने घटनाका कारक तत्व हुन्। तीन करोड पुग्न लागिसकेको देशको जनसंख्याको मूल प्रबाह ,जो युवा बर्ग हो, त्यो उकुस-मुकुसपूर्ण जीवन बाँच्न बाध्य छ अहिलेको 'नयाँ नेपालमा'। प्रत्येक बर्ष लाखौंको संख्यामा नव युवा युवतीहरु एस० एल० सी० पास गरि उच्च शिक्षाको बाटो समात्दछन् साथै ती मध्ये अधिकांशले भबिष्यको रोजगारी तथा अपनाउने ब्यबसायको सपना पनि बुन्न थालिसकेका हुन्छन्। तर हाम्रो देशको अन्तहिन क्रान्ति र आन्दोलनका श्रींखलाहरुले अधिकांश नेपाली युवाहरु कुंण्ठित बनाईएका छन्। साँच्चै भन्ने हो भने अहिलेको देशको परिबेशमा यूवाका लागी मुख्यत दुईवटा बाटामात्रै प्रष्ट छन्- या कुनै एक राजनीतिक पार्टीको कट्टर कार्यकर्ता हुने या त कुनै पनि तरिकाले बिदेश छिर्ने ! ४६ सालपछिको बहुदल प्राप्ती पछि बनेका सरकारले पनि यही निती लिएका थिए। पुराना राजनीतिक खेलाडीहरुले भरिएको त्यतिखेरका सरकारका श्रम मन्त्रीहरुलाई सकेसम्म मलेसीया जस्तो नयाँ "सस्तो तलब गन्तब्य" खुलाउन खुब कसरत गर्न भनियो र अन्ततोगत्वा बङ्लादेशी कामदारले पूरै हडपेको मलेसीयाको श्रम बजारमा नेपाली मेहनती हातहरु सजिलै अनि सस्तैमा निर्यात हुन बाध्य बनाइयो। सरकारमा जाने सबैलाई पालै पालो गरि हालीमुहाली मच्चाउनु थियो, त्यसैले युवाको अथाह सागरलाई थाम्न नसक्ने देखेपछि र देशमा औधिगिकरण कछुवाको भन्दा सारै धीमा गति हुँदाको अवस्थामा निती निर्माताहरुले यहि एउटा बाटो देखे कि सकेसम्म युवाहरुलाई बिदेशतिरै हुत्याउनु पर्छ। अहिले ती हर नेपालीहरुलाई आफू बिदेशिनुको पिडा कहिल्यै नहट्ने ऐजेरु बनिदिएको छ। एस० एल० सी० र उच्च शिक्षामा राम्रो नम्बर ल्याउने धनीका छोराछोरीहरु बिध्यार्थी भिसाको माध्यमबाट बेलायत, अमेरिका ताक्छन् भने बाँकीको लागी कोरीया, खाडी र मलेसीयाहरु आफै छुट्टिन्छ। यहाँ पनि राम्रै वर्ग बिभाजन छ। तर बिदेशिएका मध्येमा नेपाली संचार माध्यमले समेत कम आँकलेर लेख्ने गरेको यो बर्गमा पर्ने मलेसिया, खाडी तथा कोरीयातिर काम गर्ने कामदारको रेमीटेन्सले पूरै माओवादी जनयुद्धकाल्को अर्थतन्त्र धानीएको भनेर खुब रटान लगाइन्थ्यो। बरु हिजोआज रोजगारीको बाटो कुन हो भनेर केही भन्न नसक्ने हाम्रा नेपाली अर्थशास्त्रीहरु तीनै रातदीनको कमाई सरासर नेपाल पठाउने कामदारलाई नेपालमा महंगी बढाए भनेर पो गाली गर्न तम्सेका देखिन्छन्।

                  यो माथिको प्रिष्टभूमीपछि अव फेरी नेपाली चेलीहरुले अति दु:ख पाईरहेको ठाउँ खाडीतिरै फर्कौं। केही समय पहिले थुप्रै नेपाली महिलाले शोशण खप्न नसकेर आत्महत्या गरेका भनिएको देश लेवनान होस् वा खाडीका साउदी अरब लगायतका तेलबाट धनी बनेका अन्य देश हुन् सबै मरुभूमीमा पैसाको बलमा जबर्जस्ती खडा गरिएका गगन्चुम्बी महलहरुले भरिएको, तर सँधै क्रितिम अनुभुत हुने देश हुन्। प्रत्येक कुरा पैसाको बलमा खडा गरिएको हुनाले यहाँका मानिसहरु, खासगरी ब्यापारीहरु पैसाभन्दा अन्य कुरालाई एकदमै गौण ठान्दछन्। बर्षभरिमा आधाभन्दा बढी महिना एकदमै गर्मी हुने हुनाले यहाँका मानिसहरुका दीनहरु बाहिरको खुल्ला चहलपहलमय हाम्रो देशका रत्नपार्क वा बानेश्वरको जस्तो दैनीकि नभएर कि त आफ्नै घरभित्रै कि भब्य-भब्य सपिङ् मलहरुमा बित्ने बाध्यात्मक अवस्थानै हो। यसरी प्रक्रितिका रंगिबिरंगी छटाहरुले पूरा साथ नदिएको देशका स्थानीय नागरिकहरुको सामाजीक सोच र स्वभाब पनि अलग हुनेनै भयो। त्यहि सोच र धन नेपाली लगायत बिदेशी घरेलु महिला कामदारहरु शोसित हुनमा जिम्मेवार छ। यही मनोबैग्यानीक अवस्थाको बिश्लेशण नगरि हामीले हाम्रा सरल, सह्रदयी नेपाली नारीहरुलाई यस्तो जटिल सामाजीक अवस्था भएका ठाउँका उन्मक्त धनी घरमालीकहरुका निजी रावणराज चल्ने चार दिवारीभित्र रोजगार गर्न जाउ भन्नु भनेको हाम्रो आफ्नै कमजोर सोचको तस्बिर नाङो हुनु हो। प्रक्रितिको सुन्दरतासँग लडिबुडी गर्न नपाउने यी कम-अध्ययशिल तर घर र गाडीका सौखिन अरबी मालीकहरु यहाँ काम गर्ने घरेलु कामदारहरुलाई आफ्नो उपयोगको साधन सम्झन्छन्। यहि मानसिकताबाट वाक्क भएर खाडी राष्ट्रमा सबैभन्दा बढी घरेलु कामदार पठाउने देश फिलिपिन्सले अहिले सकभर संगठित संस्था वा कम्पनीमा कामदारलाई जान प्रोत्साहन गर्न थालेको छ जुन ‘साप पनि मर्ने लट्ठी पनि नभाचिने’ उसको उपाय देखिन्छ। बोल्न र काम गर्न खप्पिस फिलीपीनी महिलाहरुलाई त अरबीको घर भूतघर बन्यो भने औसत सरल नेपाली महिलाहरुले ती महलहरुमा इज्जतपूण काम गर्न पाउने कुरा सयमा पन्ध्रजस्तो मात्रै हो। औसत रुपमा पश्चिमा वा भारतीयका घरमा काम गर्नेहरु घरेलु कामदार भने खु:सीनै देखिएका छन्।

                  केहि समय पहिले कान्तिपुर टेलीभिजनबाट प्रसारित एउटा कार्यक्रममा नेपाली महिलाहरु खाडीमा काम गर्न जाने उध्येश्यसहित कसरी राहदानी बनाउन मरिहत्ते गरिरहेका छन् तर उनीहरुमध्ये धेरैलाईत: खाडी राष्ट्रमा घरेलु कामदारमा जानु अबैद्द हो भन्ने थाहै नभएको भन्ने देखाईएको थियो। घरेलु कामदारको बारेको त्यो रिपोर्टिङ्लाई सरसर्ती अध्ययन गर्ने हो भने हाम्रा चेलीलाई अबैद्द रुपमा खाडी पठाइनु देश देखी बिदेशसम्म छरपष्ट भरिएका नेपाली दलालहरुकै कारणले हो भन्ने प्रष्टिन्छ। जव जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउन जाने अबोध नेपाली नारीलाई राहदानीको दस्तुर कति लाग्छ भनेर थाहा भएको हुँदैन तव तिनलाई भारतको बाटो भएर खाडीको अनकण्टार घरमा हुत्याउने मानव दलालको पर्दाभित्रको खेलको गन्ध सो प्रसारित कार्यक्रमबाट सजिलै बुझ्न सकिन्छ। अब हामी सचेत नेपालीहरुले यो प्रष्ट बुझ्ने कुरा हो कि नेपाली महिलाहरुलाई कन्तबिजोगको अवस्थामा लैजान हाम्रा नेपाली दलालहरुले कति खतरानक खेल खेलीरहेका छन्! त्यो खेलमा जिल्ला प्रशासन परिसर बरिपरि घुम्ने दलालमात्रै हैनन् उपियाँको भेसमा भित्रै पनि गलत कार्यमा कोहि लागेका छन् कि भनेर बुझ्ने कार्य राज्यको कानुन पालना गराउने र कार्यन्वयन गराउने निकायको पनि त हो! यसरी नेपाली सामाजिक मूल्य र मान्यतालाई हल्लाउने गरि हाम्रै नेपाली चेलीहरुका आर्तनादहरु नेपाली आँगनमा रगत पोखिएझै पोखिंदा यस देशको प्रहरी मात्र हैन प्रधानमंत्री र सम्माननीय राष्ट्रपतीले पनि कति दिन अव कानमा तेल हालेर बसिरहन मिल्छ! देश बिदेशका नेपाली सम्पूर्णले यसको कारण र समाधानका उपाय खोज्न सरकारलाई सघाउन तयार पनि छन् र तुरुन्तै यसतर्फ अग्रसरताको बाटो पहिल्याउन सरकारसँग आग्रह गर्दछन्।

समाप्त
दुवई, यु.ए.ई.

Google